सरकार र ‘जेन–जी’ सम्झौता गोबरमाथि नाग टाँसेको कलाविहीन नाटक: केपी ओली

voiceofgandaki

काठमाडौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकार र ‘जेन–जी’ समूहबीच भएको १० बुँदे सम्झौतालाई ‘कलाविहीन नाटक’ को संज्ञा दिएका छन् ।

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त सम्झौताको कुनै औचित्य नभएको भन्दै कडा आलोचना गरेका हुन् । ओलीले वर्तमान सरकारको वैधानिकता र कार्यशैलीमाथि व्यंग्य गर्दै यसलाई ‘ढोकामाथि गोबर लगाएर नाग टाँसे जस्तै’ भएको टिप्पणी गरे ।

ओलीले भने, ‘अहिलेको यो सरकार ढोकामाथि गोबर लगाएर नाग टाँसे जस्तै हो । हिजोको एउटा कलाविहीन नाटकको पटाक्षेप कसरी भयो तपाईंहरूलाई थाहै छ । जति कलाविहीन ढंगले नाटकको पर्दा उठेको थियो, त्यही कलाविहीन ढंगले पर्दा खसेको छ ।’

सरकारसँग आन्दोलनरत पक्षसँग सम्झौता गर्ने कुनै ‘म्यान्डेट’ नै नभएको उनको जिकिर छ । ‘यो सरकारले त्यो मान्यता कहाँबाट पाएको छ ? गोबर लगाएर नाग टाँसे जस्तो यो सरकारले को को बोलाएर कागज थमाएर सम्झौता गरेको छ,’ ओलीले प्रश्न गर्दै भने, ‘त्यो कलाविहीन नाटक हिजै त्यहीँ अस्वीकार भयो, त्यो सम्झौता त्यहीँ च्यातिदिए ।’

अध्यक्ष ओलीले सरकार र जेन–जीबीच भएको भनिएको सम्झौताको दस्तावेजलाई ‘फजुल कागज’ भन्दै आफ्नो पार्टीले त्यसलाई मान्यता नदिने प्रष्ट पारे । उनले भने, ‘त्यस्ता फजुल कागजलाई मान्यता दिने कुरा हुँदैन, त्यो कलाविहीन नाटकलाई हामी मान्यता दिँदैनौँ ।’

बुधबार सिंहदरबारमा अन्तरिम सरकार र जेन–जीका विभिन्न समूहबीच १० बुँदे सम्झौता भएको थियो । तर, सम्झौता लगत्तै असन्तुष्ट पक्षले त्यसको विरोध गरेका थिए ।

प्रतिक्रिया