खेतबारीको धपेडी बिर्सेर पोखराका किसान हानिरी जवाफ प्रतियोगितामा..

voiceofgandaki

पोखरा । हातमा हलो, कोदालो वा हँसिया होइन, सोमबार पोखराका किसानहरूको हातमा माइक थियो । सधैँ खेतबारीको कान्ला, गरा र गोठमा पसिना बगाउने उनीहरू मञ्चमा उक्लिएर दिमाग खियाउँदै थिए । प्रश्नको जवाफ दिँदा उनीहरूको मुहारमा देखिने आत्मविश्वासले भनिरहेको थियो– ‘हामी माटो मात्र चिन्दैनौँ, प्रविधि र ज्ञानमा पनि अब्बल छौँ ।’

पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसको माहोल यसपटक अलि फरक र विशेष थियो । वडा नम्बर १ र २ बाहेक महानगरका ३१ वटा वडाका कृषि सञ्जालबाट आएका किसानहरू ‘कृषि हाजिरजवाफ (क्विज)’ को मैदानमा उत्रिएका थिए ।

प्रतियोगिता सामान्य थिएन । सुरुमा ३१ वटा टिमलाई ५ समूहमा बाँडेर ‘लिग’ चरणको खेलजस्तै प्रतिस्पर्धा गराइयो । किसानहरूले कहिले तस्बिर हेरेर बाली वा रोग चिन्नुपर्ने त कहिले ‘र्‍यापिड फायर’ राउन्डमा प्रश्न नसकिँदै जवाफ दिइसक्नुपर्ने । बहु–उत्तर र ठीक/बेठिक छुट्याउने चरणमा पुग्दा माहोल निकै तातिएको थियो ।

सधैँ ब्याडमा बीउ उमार्ने हतारोमा हुने किसानहरू प्रश्नको उत्तर फुराउन हतारिरहेका देखिन्थे । दर्शकदीर्घामा रहेका अन्य किसान र जनप्रतिनिधिहरू उनीहरूको बौद्धिक क्षमता देखेर ताली बजाइरहेका थिए ।

अन्ततः ज्ञानको यो ककसमा वडा नम्बर २८ को टोलीले बाजी मार्‍यो । राधाकृष्ण तिवारी, इमनाथ भुर्तेल र शारदा भण्डारीको अनुहारमा जितको चमक देखिन्थ्यो । उनीहरूले प्रथम स्थान हासिल गर्दै २० हजार रुपैयाँसहित ट्रफी र मेडल उचाले ।

प्रतिस्पर्धा कम रोचक थिएन । वडा नम्बर ३३ का पदम लामिछाने, अन्जु भण्डारी र सुदनराज अधिकारीको टोलीले कडा टक्कर दिँदै द्वितीय स्थान सुरक्षित गर्‍यो । उनीहरूले १५ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, वडा नम्बर ७ का च्युरा भण्डारी, बिना गिरी र कमला बरालको टोलीले तृतीय स्थानमा चित्त बुझाउँदै १० हजार रुपैयाँ हात पारे ।

मञ्चमा बसेर यो दृश्य नियालिरहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई लाग्यो– यो केवल हारजितको खेल होइन, यो त ज्ञानको उत्सव हो ।

‘यस्ता कार्यक्रमले किसानमा नयाँ ऊर्जा भर्दो रहेछ,’ मेयर आचार्यले भने, ‘पोखराका विभिन्न पकेट क्षेत्रमा भइरहेका कृषि अभ्यास र त्यहाँको ज्ञान आज यहाँ साटासाट भयो । यो उत्साह देख्दा लाग्छ, हाम्रा किसानहरू अब परम्परागत खेतीमा मात्र सीमित छैनन् ।’ उनले किसानहरूप्रति महानगरको समर्पण सधैँ रहने वाचा गरे ।

कार्यक्रममा उपस्थित गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव.वासु रेग्मीले पोखराको यो प्रयासलाई ‘रोल मोडेल’ को संज्ञा दिए । ‘पोखराले कृषिलाई उद्योग र किसानलाई उद्यमी बनाउने बाटो समातेको छ,’ उनले भने, ‘आजको यो दृश्यले किसानको मनोबल कति उच्च छ भन्ने देखाउँछ ।’

कार्यक्रमका सभापति एवं आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर १४ का वडाध्यक्ष बोधराज कार्की सहभागी ३१ वटै टिमको जोस देखेर मख्ख थिए । ‘तपाईंहरूले यहाँबाट प्रविधि सिक्नुभयो, ज्ञान लिनुभयो । अब यसलाई उत्पादन वृद्धिमा लगाउनुहोस्,’ उनले शुभकामना दिँदै भने । गत वर्षबाट सुरु भएको यो अभ्यास किसानकै मागबमोजिम यस वर्ष पनि दोहोरिएको आर्थिक विकास महाशाखाले जनाएको छ ।

यो ज्ञान कुम्भमा महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर ३३, २३, १३ र १५ का वडाध्यक्षहरू, वडा नम्बर ९, २५ र १३ का वडा सदस्यहरू, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधिदेखि विभिन्न सहकारी र सञ्जालका प्रतिनिधिहरू साक्षी बसे ।

साँझ पर्दा प्रतियोगिता सकियो, तर किसानहरूले बोकेको उत्साह सकिएको थिएन । उनीहरूले पोखराबाट एउटा सन्देश लिएर गाउँ फर्किए– ‘कृषि कर्म पसिनाको मात्र होइन, विवेक र ज्ञानको पनि परीक्षा हो ।’

प्रतिक्रिया