पोखरा । पोखरा महानगरपालिका–२२ स्थित धार्मिक तथा पर्यटकीय गन्तव्य पुम्दीकोटमा केबलकार निर्माण गर्ने योजनाको स्थानीय माओवादी नेताहरूले कडा विरोध गरेका छन् । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजीप्रसाद बराल 'जीवन' र माओवादी नेता राजु क्षत्रीले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै केबलकार परियोजनाको विरोध गरेका हुन् ।
उनीहरूले पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालमाथि 'विकासको खोल ओढेर' पुम्दीकोटलाई निजी व्यापारिक केन्द्र बनाउन खोजेको आरोप लगाएका छन् । नेताहरूले केबलकार निर्माणको योजना स्थानीयको आवश्यकताभन्दा पनि सीमित व्यापारीको स्वार्थपूर्तिका लागि अघि सारिएको दाबी गरेका छन् ।
गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता रामजीप्रसाद बरालले पुम्दीकोटमा केबलकार आवश्यक नै नरहेको जिकिर गरे । उनले लेखेका छन्, 'बुद्धिले चुलिएको कुन मूर्ख व्यापारीको योजना हो ? सम्बन्धित ठाउँका जनतालाई कुनै जानकारी छैन । केबलकार त्यहाँको आवश्यकता नै होइन । सानातिना व्यवसाय गर्नेहरू माथिको गिद्धे नजरभन्दा बाहेक केही हुनै सक्दैन ।'
बरालले पुम्दीकोट विकास समितिले सार्वजनिक सुनुवाइ समेत नगरी गुपचुप रूपमा योजना अघि बढाएको आरोप लगाए । उनले पुम्दीकोट कुनै व्यापारीको निजी कम्पनी नभएको भन्दै यसलाई व्यापारिक केन्द्र बनाउने सपना नदेख्न चेतावनी दिए । २०६७ सालमा शान्ति मन्त्रालयबाट बजेट विनियोजन गरी पुम्दीकोटको विकास सुरु गर्दा आफू अभियन्ता रहेको स्मरण गर्दै उनले अहिलेको व्यवस्थापन र परिचालन सही नभएको टिप्पणी गरे ।
अर्का माओवादी नेता राजु क्षत्रीले विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालमाथि गम्भीर आर्थिक अनियमितता र 'सेटिङ' को आरोप लगाएका छन् । उनले अध्यक्ष बरालले आफ्ना जेठानको पाखोबारीलाई केबलकार स्टेसन बनाउने नाममा करोडौंमा बेचेको र व्यावसायिक साझेदार रुँगटा परिवारलाई खुसी पार्न शिव मन्दिरबाट सिधै रुँगटाको जमिनमा जोडिने गरी सिसाको पुल (ग्लास ब्रिज) हाल्न कसरत गरिरहेको आरोप लगाए ।
क्षत्रीले लेखेका छन्, 'अब मानिसहरूले विस्तारै बुझ्दै जान थालेका छन् कि विकासको खोल ओढेर चन्द्रकान्त बरालले पुम्दीकोटलाई आफ्नो स्वार्थ अनुकूलको व्यापारिक केन्द्र बनाउन लागिपरेका छन् ।' उनले अध्यक्ष बरालले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गरेको फोटो सार्वजनिक भएको विषय उठाउँदै 'सामन्तको बर्को ओढेर जनता ठग्न आएको' आरोप लगाए । साथै, समितिमा अध्यक्षले आफ्नै भाइलाई उपाध्यक्ष बनाएको र भाइलाई नै अध्यक्ष बनाउने दाउमा रहेको भन्दै नातावादको प्रश्नसमेत उठाएका छन् ।
नेता क्षत्रीले नजिकै रहेको विश्व शान्ति स्तूपको समितिमा समेत ३५ वर्षदेखि स्थानीय र हिन्दूहरूलाई समावेश नगरी विभेद गरिएको र त्यसमा व्यापारिक घरानाको चलखेल रहेको आरोप लगाए ।
के हो पुम्दीकोट केबलकार परियोजना ?
पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण अभियानअन्तर्गत त्यहाँ पर्यटकीय आकर्षण थप्न भन्दै केबलकार र ग्लास ब्रिज (सिसाको पुल) निर्माणको योजना अघि सारिएको छ । समितिले यसका लागि विभिन्न चरणमा छलफल चलाउँदै आएको छ ।
प्रस्तावित योजनाअनुसार फेवाताल किनार वा रानीवन क्षेत्रबाट पुम्दीकोटसम्म केबलकार जोड्ने र त्यहाँ स्काई वाक वा ग्लास ब्रिज निर्माण गर्ने लक्ष्य राखिएको छ । यसका लागि निजी क्षेत्रको लगानी भित्र्याउने तयारी समितिको छ । विशेषगरी नेपालका प्रतिष्ठित व्यापारिक घरानासँगको सहकार्यमा यो परियोजना अगाडि बढाउने चर्चा चलेको लामो समय भइसकेको छ । तर, स्थानीय स्तरमा यसबारे पर्याप्त छलफल नभएको र साना व्यवसायी विस्थापित हुने चिन्ता व्यक्त हुँदै आएको छ । माओवादी नेताहरूले उठाएको 'रुँगटा ग्रुप' को संलग्नता र जग्गाको विषयले यो परियोजनालाई विवादमा तानेको छ ।
२९ मङ्सिर २०८२, आईतबार ०६:०६ मा प्रकाशित