हिउँ छल्न वन्यजन्तु तल्लो भेगमा झरेपछि सीमा क्षेत्रमा गस्ती बढाइयो

voiceofgandaki

मुस्ताङ ।  चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित छोसेर क्षेत्रमा वन्यजन्तुको सुरक्षाका लागि गस्ती बढाइएको छ । अत्यधिक चिसोका कारण लेकमा हिउँ जमेपछि वन्यजन्तु बेसी झर्ने हुँदा चोरीशिकारीको जोखिम बढेको भन्दै निगरानी बढाइएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय लोमान्थाङ, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल (बिओपी) को संयुक्त टोलीले नेपाल–चीन सीमाको २७ नम्बर पिल्लरसम्म पुगेर गस्ती गरेको छ ।

एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जाडोयाम वन्यजन्तुका लागि कष्टकर हुने बताए । 'चरन क्षेत्रमा आहाराको कमी हुने र बस्ती नजिक आउँदा शिकारको जोखिम हुने भएकाले गस्ती बढाएका हौँ,' उनले भने । गस्ती टोलीले चरन खर्कमा थापिएका पासो हटाउने तथा अवैध ओसारपसार नियन्त्रण गर्ने काम गरेको छ ।

माथिल्लो क्षेत्रमा मंसिरदेखि फागुनसम्म चोरीसिकारीको जोखिम बढी हुन्छ । सुरक्षा निकायले स्थानीय समुदायसँग मिलेर नियमित गस्ती गर्दै आएका छन् । जाडोमा बस्तीमा मान्छेको संख्या कम हुने र वन्यजन्तुले घरपालुवा जनावरलाई समेत आक्रमण गर्न सक्ने भएकाले समुदायस्तरमा पनि निगरानी संयन्त्र बनाइएको छ । एक्यापले बस्तीनजिकै वन्यजन्तुको निगरानी गर्न क्यामेरासमेत जडान गरेको छ ।

गस्तीमा एक्यापका प्रमुख पौडेलसहित सशस्त्र प्रहरी बल (बिओपी) छोसेरका प्रहरी निरीक्षक अरुण भण्डारी र इलाका प्रहरी कार्यालय छोसेरका प्रहरी सहायक निरीक्षक विष्णु रानाभाटको टोली सहभागी थियो । टोलीले समुद्री सतहदेखि ४ हजार ९१७ मिटरको उचाइसम्म पुगेर वस्तुस्थिति बुझेको छ ।

चरन क्षेत्रमा हिउँ जमे पनि वन्यजन्तुलाई आहाराको समस्या नरहेको पाइएको छ । यस क्षेत्रमा झारल, घोरल, नाउर, हिमचितुवा लगायत वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छन् ।

कोरला नाकास्थित २४ नम्बर पिल्लरबाट २७ नम्बर पिल्लर करिब ७ किलोमिटर टाढा छ । कोरलाबाट पश्चिम २३ नम्बर पिल्लरसम्म नेपाल र चीनका सुरक्षा निकायले संयुक्त गस्तीसमेत गर्ने गरेका छन् । मुस्ताङमा चीनसँग १८ देखि ३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर सीमा जोडिएको छ । कोरला नाका समुद्री सतहदेखि ४ हजार ६५० मिटर उचाइमा छ ।

प्रतिक्रिया