कर्तव्य ज्यान मुद्दामा ३२ वर्षदेखि फरार अभियुक्त पोखराबाट पक्राउ

voiceofgandaki

पोखरा ।


कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ३२ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । स्याङ्जा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगरलाई कास्कीको पोखराबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सोतीमगरले विसं २०५० फागुनमा स्याङ्जाको तत्कालीन रत्नपुर गाविस (हाल चापाकोट नगरपालिका–२) मा भएको एक विवाह कार्यक्रममा स्थानीय हस्ते विकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारकै क्रममा विकको मृत्यु भएपछि उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो ।

सोही मुद्दामा सर्वोच्च अदालतले विसं २०५९ असोज ७ गते सोतीमगरलाई २ वर्ष कैद सजाय सुनाएको थियो । तर, दोषी ठहर भएदेखि नै उनी प्रहरीको नजरबाट बच्दै फरार जीवन बिताइरहेका थिए ।

लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले यही साउन १३ गते पोखरा महानगरपालिका–१७, बिरौटामा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो ।

पक्राउ परेका सोतीमगरलाई तोकिएको कैद भुक्तानका लागि स्याङ्जा जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । प्रहरीले फरार प्रतिवादीहरूविरुद्धको अपरेशनलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया