जनकपुर । ‘पोखरा भ्रमण वर्ष–२०२५’ र २७औँ पोखरा सडक महोत्सवको प्रचारप्रसार गर्न पोखराका पर्यटन व्यवसायीको टोली जनकपुर आइपुगेको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति र रेवान पोखराको संयुक्त टोलीले जनकपुरमा पत्रकार सम्मेलन गरी यहाँका स्थानीयलाई पोखरा भ्रमणको निम्तो दिएको हो ।
सम्मेलनमा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले प्रवर्द्धनात्मक कार्यक्रमले आन्तरिक पर्यटनलाई चलायमान बनाउने विश्वास व्यक्त गरे । उनले प्रत्यक्ष भेटघाटमार्फत गरिने निम्तोले पर्यटकमा विश्वास बढ्ने बताउँदै भने, ‘यस्ता कार्यक्रमले दुई सहरबीच आपसी सद्भाव कायम गर्दै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
रेवान पोखराका उपाध्यक्ष एवं महोत्सव संयोजक वसन्त गौतमले आगामी पुस १३ देखि १७ गतेसम्म हुने सडक महोत्सवको तयारीबारे जानकारी गराए । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित आयोजना हुँदै आएको महोत्सवले पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रूपमा विकास गरेको उनले बताए ।
यस पटकको महोत्सवमा मुख्य आकर्षणका रूपमा मिथिला संस्कृतिसमेत समेटिने गौतमले जानकारी दिए । महोत्सवमा विभिन्न लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, झाँकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्ट, डुङ्गा दौड, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने प्रतियोगितालगायत गतिविधि हुनेछन् । सचेतनामूलक सडक नाटक र सेल्फी बुथ पनि महोत्सवका आकर्षण रहनेछन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा सडक महोत्सव अन्तर्राष्ट्रिय स्तरकै ब्रान्ड बनिसकेको भन्दै जनकपुरवासीलाई भ्रमणको निम्तो दिए । त्यस्तै, रेवानका पूर्वअध्यक्ष सूर्य भुजेलले जनकपुर पनि पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँ भएको भन्दै सहकार्यमा जोड दिए । उनले यसपटक महोत्सवमा मिथिला संस्कृति पनि देखिने भएकाले अवलोकनका लागि आग्रह गरे ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले जनकपुरका पर्यटक पोखरा पठाउन र पोखराका पर्यटक जनकपुर ल्याउन समन्वय आवश्यक रहेको औँल्याए । मधेस प्रदेश नाट्टाका महासचिव सुदर्शन काफ्लेले गण्डकीजस्तै मधेस प्रदेश पनि पर्यटनका लागि एक ढिक्का हुनुपर्ने बताए । पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले धार्मिक पर्यटनमार्फत पोखरा र जनकपुरलाई जोड्नुपर्ने धारणा राखे ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सह–प्रायोजकमा यति डिस्टिलरी, बोटलर्स नेपाल (तराई) र दी नेपाल डिस्टिलरी प्रालि छन् । प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारलगायत छन् । बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक लिमिटेड छ । कार्यक्रमको सञ्चालन रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले गरेका थिए ।
प्रचार टोलीमा संयोजक गोपीबहादुर भट्टराई, संयोजक वसन्त गौतम, महासचिव वीरेन्द्र शेरचन, पूर्वअध्यक्ष सूर्य भुजेल, सदस्य लोक गुरुङ, पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराललगायत २० जना सहभागी छन् ।
टोलीमा पत्रकार विनोद लामिछाने, राजु गिरी, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, महोत्सवका सह–संयोजकद्वय सुनिल भट्टराई र सुमन भट्टराई, नारा गण्डकीका अध्यक्ष वीरेन्द्र लामा, दामोदरभक्त थापा, कृष्णचन्द्र न्यौपाने, पोखरा महानगरका छवि शर्मा, नवराज अधिकारी, किरण रेग्मी, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश बाँस्तोला र ना गण्डकीका अध्यक्ष अनिल केसीको सहभागिता छ ।
३० मङ्सिर २०८२, सोमबार ०३:२१ मा प्रकाशित