सुशीला कार्कीको ‘न्याय’ ले उप्काएको विगत : सपना मल्लको सट्टा सविता भण्डारीलाई न्यायाधीश बनाउन यसरी भएको थियो लबिङ

voiceofgandaki

काठमाडौँ– सार्वजनिक पदमा बस्दा लिएको गोपनीयताको सपथ र अवकाशपछिको आत्मकथा लेखनबीचको विरोधाभास पछिल्लो समय बहसको विषय बनेको छ । विशेषगरी पूर्वप्रधानन्यायाधीशहरूले आत्मकथामा अदालतभित्रका गोप्य छलफल र पात्रहरूको नामै किटेर विवरण सार्वजनिक गर्ने क्रम बढेको छ । यसै सन्दर्भमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ मा उल्लेखित एक प्रसंग अहिले पनि चर्चामा छ ।

पुस्तकमा कार्कीले वर्तमान सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र हाल महान्यायाधिवक्ताको भूमिकामा रहेकी (समाचार स्रोतका अनुसार) सविता भण्डारी बरालबारेको पुरानो घटना उजागर गरेकी छन् । कार्कीको पुस्तकलाई आधार मान्ने हो भने विसं २०७२ मा नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरूले सपना प्रधान मल्लको साटो सविता भण्डारीलाई सर्वोच्चको न्यायाधीश बनाउन दबाब दिएका थिए ।

मल्ललाई हटाउन बार पदाधिकारीको प्रस्ताव

कार्कीले आफ्नो पुस्तकमा लेखेअनुसार २०७२ फागुनमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको पालामा ११ जना न्यायाधीश सिफारिस हुँदा ठूलो राजनीतिक चलखेल भएको थियो । त्यतिबेला सर्वोच्चमा न्यायाधीश अभावले मुद्दाको चाङ लागे पनि सिफारिस भएकाहरूको सुनुवाइ ५ महिनासम्म रोकिएको थियो ।

‘महान्यायाधिवक्ताको कार्यालय र बार एसोसिएसन नै त्यो नियुक्तिविरुद्ध उभिएको थियो,’ कार्कीले पुस्तकमा लेखेकी छन्, ‘अन्तिममा बारका तत्कालीन अध्यक्ष शेरबहादुर केसी र महासचिव खम्बबहादुर खाती मलाई भेट्न बालुवाटार आउनुभयो । उहाँहरूले सपना प्रधान मल्ललाई हटाएर उहाँको ठाउँमा अरु कुनै महिला कानुन व्यवसायी वा भएसम्म सविता बरालजस्ता योग्यलाई सिफारिस गर्नुभयो भने अरुको हकमा हामी जिम्मा लिन्छौँ भन्नुभयो ।’

सिफारिस भइसकेको व्यक्तिको नाम हटाउन आफूले नमानेको कार्कीले उल्लेख गरेकी छन् । उनको अडानका कारण अन्ततः २०७३ साउन १७ गते मात्र ती ११ जना न्यायाधीशको नियुक्ति सम्भव भएको थियो । संयोग कस्तो परेको छ भने, उतिबेला कार्कीले न्यायाधीश बनाउन अस्वीकार गरेकी उनै सविता भण्डारी अहिले महान्यायाधिवक्ताको भूमिकामा छिन् भने सपना प्रधान मल्ल प्रधानन्यायाधीशको रोलक्रममा छिन् ।

सपना मल्लको बचाउ

नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य भइसकेका कारण सपना प्रधान मल्ललाई न्यायाधीश बनाउन नहुने भन्दै तत्कालीन समयमा विरोध भएको थियो । तर, कार्कीले पुस्तकमा मल्लको खुलेर बचाउ गरेकी छन् । उनले भारतमा पनि राजनीतिमा लागेका व्यक्ति न्यायाधीश भएको उदाहरण दिँदै नेपालमा कुनै न कुनै रूपमा राजनीतिमा नजोडिएको मानिस भेट्न मुस्किल रहेको तर्क गरेकी छन् ।

‘नेपालमा उपेन्द्र केशरी, हरिहर दाहाल, शम्भु थापालगायतका कानुन व्यवसायी राजनीतिबाट टाढा भएको अनुभूति हुँदैन,’ कार्की लेख्छिन्, ‘सपना प्रधान मल्ल झन्डा बोकेर, संगठनमा काम गरेर प्रत्यक्ष निर्वाचित भएको अवस्था होइन । समानुपातिकतर्फबाट संविधान बनाउन गएकी उनमा विद्वता र क्षमता दुवै छ । राजनीतिकै कुरा गर्ने हो भने म पनि त विद्यार्थी राजनीतिमा सक्रिय नै थिएँ ।’

कार्कीले पुस्तकमा आफूलाई मन परेका पात्रको प्रशंसा र मन नपरेकाको आलोचना गर्ने शैली अपनाएको भन्दै कतिपयले यसलाई न्यायिक मर्यादाविपरीत मान्ने गरेका छन् । उनले वर्तमान न्यायाधीश नहकुल सुवेदीलाई ‘गोपाल पराजुलीको ज्वाइँ’ भन्दै आलोचना गरेको विषय पनि पुस्तकमा समेटिएको छ ।

प्रतिक्रिया