पोखरामा पाँचदिने औद्योगिक व्यापार मेला हुँदै, मणिपाल अस्पताल मुख्य साझेदार

voiceofgandaki

पोखरा  ।

पोखरा उद्योग वाणिज्य संघले ३४ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । मेला आगामी मंसिर १७ देखि २१ गतेसम्म चल्नेछ । यसपटक मेलासँगै १३ औं संस्करणको क्यान इन्फोटेक २०८२ पनि एकसाथ आयोजना हुँदै छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गरेर मेलाको तयारीबारे जानकारी दिएको हो । यसपटकको मेलामा पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पताल मुख्य सहयात्री बनेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहर बनाउने उद्देश्यमा मणिपालसँग कुरा मिलेको बताए । यही कारण दुई संस्थाबिच सहकार्य सम्भव भएको उनको भनाइ छ ।

अध्यक्ष कार्कीले ४० को दशकमै पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको सहरका रूपमा परिकल्पना गरिएको स्मरण गरे । उनले पोखराको हावापानी स्वास्थ्य पर्यटनका लागि उपयुक्त भएको बताए । ‘यसबाट हामीले मनग्ये विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जना गर्न सक्छौं,’ कार्कीले भने, ‘आधुनिक चिकित्सा पद्धतिलाई अंगालेर मणिपाल अस्पतालले संघको पुरानो सपनालाई मलजल गरेको छ ।’ उनले पोखरालाई आधुनिक उपचारसँगै आयुर्वेद, योग र ध्यानको केन्द्र बनाउन सकिने धारणा राखे ।

मेलाको नारा ‘लगानीको संवर्धन : उद्योग–व्यवसायको प्रवर्धन’ तय गरिएको छ । मेला विशुद्ध स्वदेशी उत्पादनको बजार प्रवर्धनमा केन्द्रित हुनेछ । उत्पादक र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध स्थापना गर्ने उद्देश्य आयोजकको छ । मेलामा औद्योगिक तथा कृषिजन्य उत्पादन, हस्तकला, सूचना प्रविधि र शिक्षा क्षेत्रका स्टलहरू रहनेछन् । मेलालाई मनोरञ्जनभन्दा पनि उद्यमशीलता विकासको थलो बनाउन लागिएको छ । त्यसैले यसपटक मेलाको अवधि घटाएर ५ दिनमात्र बनाइएको अध्यक्ष कार्कीले प्रस्ट पारे ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामा सूचना प्रविधिका नयाँ आयामबारे जानकारी गराइने बताए । उनले साइबर सुरक्षाबारे सचेतना जगाउने कार्यक्रम पनि राखिने जानकारी दिए । संघका अध्यक्ष कार्कीले क्यान इन्फोटेकलाई मेलामा समेट्नुको उद्देश्य प्रविधिलाई दैनिक जीवन र व्यवसायसँग जोड्नु रहेको बताए ।

कार्यक्रम संघका महासचिव शोभा गौतमले सञ्चालन गरेकी थिइन् । सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया