अनलाइन चलाउने ८ मध्ये १ बालबालिका यौन शोषणमा, साइबर ब्युरोमा १८ हजार उजुरी

voiceofgandaki

काठमाडौँ– नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक आठ बालबालिकामध्ये एक जना अनलाइन यौन शोषणको सिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय महिला आयोगको खबर गरौँ ‘११४५’ हेल्पलाइनको आठौँ स्थापना दिवसका अवसरमा प्रहरीको साइबर ब्युरोले यस्तो डरलाग्दो तथ्यांक बाहिर ल्याएको हो ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन आयोजित कार्यक्रममा साइबर ब्युरोकी प्रहरी निरीक्षक राधिका ठकुरीले बालबालिकामाथि हुने डिजिटल अपराध बढ्दै गएको बताइन् ।

‘अनलाइन यौन शोषण विश्वव्यापी समस्याका रूपमा देखिएको छ,’ उनले भनिन्, ‘नेपालमा परेका उजुरी र पछिल्ला अध्ययनलाई हेर्दा अनलाइन प्रयोगकर्ता ८ बालबालिकामध्ये एक जना यौन शोषणको सिकार भएको पाइएको छ ।’

एक वर्षमै १९ हजार उजुरी

ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा साइबर हिंसासम्बन्धी १८ हजार ९२६ वटा उजुरी दर्ता भएका थिए । यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म ६ हजार ८२६ जनाले उजुरी दर्ता गराएका छन् । यस किसिमको अपराधबाट वयस्कभन्दा बालबालिका बढी प्रभावित हुने गरेको ठकुरीले जानकारी दिइन् ।

अनलाइन दुर्व्यवहार र शोषणपछि बालबालिकामा गम्भीर मानसिक असर पर्ने गरेको प्रहरीको निष्कर्ष छ । पीडित बालबालिका तनाव तथा चिन्तित देखिने, उदासीपन, अनुहार मलिन हुने, आत्मविश्वास घट्ने, डराउने, एकोहोरो हुने, रिसाउने र अस्वाभाविक व्यवहार देखाउने गरेको ठकुरीले बताइन् । बालबालिकालाई ‘ब्ल्याकमेल’ गर्ने र अनुचित सामग्री पठाउने क्रम बढेकाले अभिभावक र विद्यालय सचेत रहनुपर्ने उनको सुझाव छ ।

हेल्पलाइनमा ७३९ उजुरी

आयोगले सञ्चालनमा ल्याएको निःशुल्क हेल्पलाइन ‘११४५’ मा चालु आवको साउनदेखि असोज मसान्तसम्म महिला हिंसाविरुद्ध ७३९ वटा उजुरी परेका छन् । आयोगकी सविता बडालका अनुसार घरेलु हिंसाका ९७ वटा उजुरी दर्ता भएका छन् । सोही अवधिमा आयोगले ११५ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरेको छ ।

आयोगकी अध्यक्ष कमला पराजुलीले ८ वर्षअघि सुरु भएको हेल्पलाइनले ३६५ दिन नै २४ सै घण्टा सेवा दिइरहेको बताइन् । लैंगिक हिंसा, दाइजो, यौनजन्य हिंसा र साइबर अपराधबाट पीडित महिला तथा बालबालिकाका लागि यो सेवा प्रभावकारी बनेको उनको दाबी छ ।

‘जातीय, वर्गीय सबै किसिमका महिलाबाट हिंसासम्बन्धी उजुरी आउने गरेका छन्,’ अध्यक्ष पराजुलीले भनिन्, ‘हिंसाबाट विक्षिप्त भएर आएकाहरूको समस्यालाई यहाँ कार्यरत कर्मचारीले आफ्नै समस्या ठानेर समाधान गर्ने गरेका छन् ।’

प्रतिक्रिया