मुख्यसचिव अर्यालको बिदाई, सुमन अर्यालले सम्हाल्नेछन् कमान्ड

voiceofgandaki

पोखरा । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै छन् । उनको अवकाशसँगै रिक्त हुने पदका लागि सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ ।

एकनारायण विसं २०८१ भदौ १३ गते निजामती सेवाको सर्वोच्च ओहोदामा नियुक्त भएका थिए । मुख्यसचिवका रूपमा आफ्नो कार्यकालमा शासकीय मामिला र विकास व्यवस्थापनमा महत्त्वपूर्ण काम भएको दाबी उनले गरेका छन् । सेवा प्रवाहको क्षेत्रमा पनि सुधार भएको उनको भनाइ छ । उनको नेतृत्वमा भएको नीतिगत एवं कानुनी सुधारले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा सहजीकरण भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उनको कार्यकालमा ढिलासुस्ती हट्न मद्दत पुगेको छ ।

अर्यालले आफ्नो कार्यकालमा 'जेनजी' आन्दोलनको व्यवस्थापनमा नेतृत्व प्रदान गरे । विभिन्न पक्षसँग वार्ता र संवादमार्फत मुलुकमा शान्ति तथा स्थायित्व कायम गरेको उनले स्पष्ट पारेका छन् । उनकै पहलमा अनुपयुक्त कार्यविधि र मापदण्डहरू खारेज गरिएका छन् । सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ । त्यस्तै नेपाललाई 'ग्रेलिस्ट' बाट बाहिर निकाल्न सुधारात्मक क्रियाकलापको कार्ययोजना निर्माण गरिएको छ । सो योजना कार्यान्वयनका लागि आवश्यक पहलसमेत भएको छ । यसै सन्दर्भमा सरकारले पहिलो पटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ ।

सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोगमा अर्यालले जोड दिए । प्रणालीहरूको अन्तरआवद्धता र रुपान्तरणमा काम भएको छ । एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्यांकको प्रयोगलाई उनको कार्यकालमा विशेष प्राथमिकतामा राखिएको थियो । सबै सेवाको सुरु बिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउने काम भएको छ । अब राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा सेवा प्राप्त गर्न र उपयोग गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको छ ।

अन्तर्राष्ट्रिय सहभागितासहितको सगरमाथा संवादको सहजीकरणमा पनि उनले भूमिका खेले । नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा विशेष जोड दिइएको छ ।

प्रतिक्रिया