पोखरा ।
पोखराको रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले झलकमान गन्धर्व सारङ्गी पाठशालालाई सहयोग गरेको छ । पोखरा–१५ स्थित पाठशालामा अध्ययनरत विद्यार्थीलाई रेडियोले राष्ट्रिय पोसाक उपलब्ध गराएको हो । रेडियो स्थापनाको २५ औं वर्ष (रजत वर्ष) प्रवेशको अवसरमा यो सहयोग गरिएको हो ।
रेडियोले ‘१२ महिना १२ कार्यक्रम’ अभियान अन्तर्गत यो सहयोग गरेको जनाएको छ । बिहीबार आयोजित कार्यक्रममा रेडियोकी प्रबन्ध निर्देशक सुनयना पालिखेले पाठशालाका सञ्चालक दिलीप गायकलाई पोसाक हस्तान्तरण गरिन् । सो अवसरमा पालिखेले रेडियोले सामाजिक उत्तरदायित्व वहन गर्दै समाजसेवामा जोडिएको बताइन् । स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले वार्षिकोत्सवका अवसरमा वर्षभरि नै रचनात्मक काम गरिने बताए ।
पाठशालाका सञ्चालक गायकले रेडियोको सहयोग आफूहरूका लागि निकै महत्त्वपूर्ण भएको बताए । उनका अनुसार विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँदा दौरा–सुरुवाल र कोट भाडामा लिनुपर्ने बाध्यता थियो । रेडियोको सहयोगले अब त्यो बाध्यता हटेको छ । हाल पाठशालामा १४ जना विद्यार्थीले सारङ्गी बादन सिकिरहेका छन् । हस्तान्तरण कार्यक्रममा रेडियोकी समाचार प्रमुख आरजु विष्ट ‘सल्यानी’, मार्केटिङ म्यानेजर नारायण पौडेल र समाचार संयोजक राजाराम पौडेल सहभागी थिए ।
महेन्द्रपुलमा सांगीतिक साँझ हुँदै
यसैबिच, रेडियोले आगामी मंसिर १८ गते विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । रजत वर्षकै अवसर पारेर ‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’ आयोजना गर्न लागिएको हो । कार्यक्रम पोखराको महेन्द्रपुलस्थित फल्चामा हुनेछ ।
कार्यक्रम संयोजक राजाराम पौडेलका अनुसार साँझ ४ बजेबाट सांगीतिक माहोल सुरु हुनेछ । कार्यक्रमलाई भव्य बनाउन विभिन्न उपसमिति गठन गरेर तयारी तीव्र पारिएको छ । कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । संयोजक पौडेलले सारङ्गीको धुनमार्फत झलकमान र नारायण गोपाललाई सम्झन सबैलाई आग्रह गरेका छन् ।
रेडियोले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । पोखरा–१४ को वात्स्यायन वृद्धाश्रममा खाद्यान्न र लत्ताकपडा सहयोग तथा विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गरिएको थियो । त्यस्तै ‘जेनजी आन्दोलन’ का क्रममा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीलाई स्टेसनरी सामग्री सहयोग र विभिन्न बहसमूलक कार्यक्रम पनि सम्पन्न भइसकेका छन् ।
१३ मङ्सिर २०८२, शुक्रबार ०५:५५ मा प्रकाशित