काठमाडौं ।
आठौं सामाजिक सुरक्षा दिवसको अवसरमा पोखराको चरक मेमोरियल हस्पिटल सम्मानित भएको छ । सामाजिक सुरक्षा कोषमा सूचीकृत भई गण्डकी प्रदेशमा सबैभन्दा बढी योगदानकर्तालाई स्वास्थ्य उपचार सेवा दिएको भन्दै अस्पताललाई सम्मान गरिएको हो । बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहबिच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पताललाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्कीले चरक मेमोरियल हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेललाई सम्मानपत्र प्रदान गरिन् । सरकारबाट सम्मानित हुन पाउँदा प्रबन्ध निर्देशक पोखरेलले खुसी व्यक्त गरे । पोखरेल निजी अस्पतालहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीका अध्यक्षसमेत हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवं कोष सञ्चालक समितिका अध्यक्ष कृष्णहरि पुष्करको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा आइएलओ नेपालका कन्ट्री डाइरेक्टर नुमन ओज्का, एफएनसिसिआईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जेटियुसिसिका अध्यक्ष जगतबहादुर सिंखडाले मन्तव्य राखेका थिए ।
यस वर्ष ‘सामाजिक सुरक्षा : सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिकको जीवन रक्षा’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ । केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र स्थानीय तहमा पालिका प्रमुखको आतिथ्यतामा देशभर विभिन्न कार्यक्रम गरिए ।
सामाजिक सुरक्षा कार्यक्रम २०७५ मंसिर ११ गते औपचारिक क्षेत्रबाट सुरु भएको थियो । २०७९ चैत ८ बाट वैदेशिक रोजगार क्षेत्र र २०८० साउन ३१ बाट अनौपचारिक तथा स्वरोजगार क्षेत्र यसमा समेटिएका छन् । २०८२ वैशाख १ गतेदेखि सार्वजनिक क्षेत्र गरी सबैका लागि कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराएको छ ।
कोषमा २०८२ मंसिर १० गतेसम्म औपचारिक क्षेत्रका २२ हजार ३३२ रोजगारदाता संस्था आबद्ध भएका छन् । यसमा कार्यरत करिब ६ लाख ५० हजार श्रमिक र वैदेशिक क्षेत्रका करिब २० लाख श्रमिकसमेत गरी कुल २६ लाख ५० हजार योगदानकर्ता कोषमा जोडिएका छन् । हालसम्म ९५ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ । त्यस्तै १७ अर्ब ७२ करोड रुपैयाँ सुविधाबापत भुक्तानी भइसकेको छ ।
१३ मङ्सिर २०८२, शुक्रबार ०६:१९ मा प्रकाशित