सेयर राइडिङविरुद्धको आन्दोलनले पर्यटन प्रभावित

voiceofgandaki


पोखरा  । 


सेयर राइडिङ नियमावलीको विरोधमा यातायात व्यवसायीहरुले पोखरा र गण्डकी प्रदेशका विभिन्न स्थानमा सुरु गरेको आन्दोलनप्रति पोखरा पर्यटन परिषदले गम्भीर चासो प्रकट गरेको छ । परिषदका अध्यक्ष तारानाथ पहारीद्वारा जारी प्रेस विज्ञप्तिमा पछिल्ला दिनमा पर्यटक सवारीसाधनको सञ्चालनमा देखिएको अवरोधले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गरिएको छ ।

‘यस्ता अवरोधहरूले गण्डकी प्रदेशको समग्र पर्यटन व्यवसायमा प्रतिकूल असर पार्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूमा नकारात्मक सन्देश प्रवाह हुने खतरा बढ्दछ,’ विज्ञप्तिमा भनिएको छ । पर्यटनलाई नेपालको समृद्धिको प्रमुख आधारका रूपमा चिनाउँदै परिषदले यस क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउनु सबै सरोकारवालाहरूको साझा जिम्मेवारी रहेको स्पष्ट पारेको छ ।

विज्ञप्तिमा पोखरा पर्यटन परिषदले पछिल्ला बन्द–हड्तालहरूमा समेत पर्यटक सवारीसाधनलाई निर्वाध रूपमा सञ्चालन गराइएको उदाहरण दिँदै हाल देखिएको अवरोध अन्त्य गर्न सार्वजनिक यातायात बचाऔं संघर्ष समिति २०८२ र अन्य सरोकारवाला पक्षहरूप्रति जोडदार माग गरेको छ ।

‘बन्द नै समाधान होइन’ भन्दै परिषदले शान्तिपूर्ण, व्यवस्थित र पर्यटकमैत्री वातावरण निर्माणमा सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।







प्रतिक्रिया