अनियमितता छानबिनको माग गर्दै सिर्जना बहिरा स्कुलमा तालाबन्दी

voiceofgandaki

पोखरा । 

पोखरा २६ मा रहेको सिर्जना बहिरा माविमा विद्यार्थीले तालबन्दी गरेका छन् । प्ले कार्ड प्रदर्शन गरी विरोधमा उत्रिएका उनीहरुले विद्यालयमा तालाबन्दीसमेत गरेका छन् ।  

विद्यालयमा अनियमितता भएको भन्दै छानविन गर्न बनेको समितिले काममा ढिलाइ गरेको उनीहरुको आरोप छ । विद्याथीहरुले बिहीबारदेखि आन्दोलन चर्काएका थिए । विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको अभिभावक प्रविन बिसीले बताए । 

भदौ दोस्रो हप्ता गठित छानबिन समितिले दुई महिना बित्दासम्म पनि प्रतिवेदन तयार गर्न नसकेको अभिभावक बिसीले सुनाए । ‘विद्यार्थीको माग प्रधानाध्यापक सुनील भण्डारी, सहायक प्रधानाध्यापकसहित ५ जना शिक्षकलाई बर्खास्त गर्नुपर्छ छ । यही माग राखेर उनीहरुले आन्दोलन गरेका हुन्,’ बिसीले भने । विद्यालय प्रशासनले निर्दोष विद्यार्थीलाई झुटो आरोप लगाएर कारागार चलान गरेको विरोधमा विद्यार्थीहरू गत भदौ ८ गतेदेखि आन्दोलित भएको उनले सुनाए । 

भदौमा विभिन्न माग राख्दै आन्दोलन गरेपछि पोखरा २६ का वडा सदस्य तीर्थ रानाभाटको संयोजकत्वमा छानबिन समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक सुनील भण्डारीले बताए । दसैं, तिहार र जेनजी आन्दोलनका कारण छानविन गर्न केही ढिलाइ भएकाले विद्यार्थी आन्दोलित भएको उनले सुनाए । पछिल्लो समय समितिले द्रुत गतिमा काम गरेकाले समस्याको समाधान छिट्टै हुने उनको भनाइ छ । 

भण्डारीले समितिले दिएको रिपोर्टका आधारमा दोषी ठहरिए कारवाही भोग्न तयार रहेकोसमेत सुनाए । तर, पछिल्लो समय विद्यार्थीहरुले लगाएको आरोप निराधार रहेको उनको दाबी छ । अभिभावक र सरोकारवालासँग छलफल पनि भइरहेको उनले खुलाए । 


प्रतिक्रिया