पोखरा । पोखरा रंगशाला स्थित कभर्डहलमा शुक्रबारदेखि एभरेस्ट भलिबल लिग (इडब्लुभिएल) फ्रेन्चाइज भलिबल लिग सुरु भएको छ । भदौ २८ गतेसम्म चल्ने लिगको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे ।
पहिलो संस्करण काठमाडौंमा भएको लिगको दोस्रो संस्करण पोखरामा भएको हो । लिग अन्तर्गत शुक्रबार भएको २ खेलमा साविक विजेता कर्णाली यश्विज र उपविजेता ललितपुर क्विन्सले जित निकाले । पहिलो खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३–० ले सोझो सेटमा पराजित ग¥यो । पहिलो सेट प्रतिस्पर्धात्मक बने पनि कर्णाली आफ्नो पोल्टामा पा¥यो ।
दोस्रो खेलमा सहजै कर्णालीले २५–२० ले जित्दै कर्णालीले अग्रता २–० को बनायो । तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्दै कर्णालीले ३ अंकसहित सानदार सुरुवात गरेको छ । दोस्रो सेटमा पोखराकी कप्तान तथा सेटर प्रगति नाथ घाइते बन्न पुगेकी थिइन् । तेस्रो सेटमा कोर्ट प्रवेश गरेपनि टिमले सेट गुमाउन पुग्यो । पोखराबाट खेल्ने विदेशी खेलाडीहरुको प्रदर्शन पनि उत्साहजनक रहन सकेन ।
फ्रेन्चाइज भलिबल लिगको पहिलो दिन दोस्रो खेलमा ललितपुरले मधेस युनाइटेडमाथि सोझो सेटमा जित हाँसिल ग¥यो । ललितपुरले मधेसमाथि पहिलो सटमा २५–१७ को नतिजा निकालेको थियो । त्यही प्रभावलाई निरन्तरता दिने क्रममा दोस्रो सेटमा ललितपुरले अझ उत्कृष्ट प्रदर्शन ग¥यो ।
दोस्रो सेटको नतिजा ललितपुरले २५–१३ ले पक्षमा पारेको थियो । तेस्रो सेटमा मधेसले सुधारिएको प्रदर्शन गरे पनि त्यो जितलाई पर्याप्त भएन । ललितपुरले २५–१९ को सहज नतिजा निकाल्दै खेल समग्रमा ३–० ले आफ्नो पक्षमा पार्दै लिग तालिकामा ३ अंक जोड्न सफल रह्यो ।
सिंगल राउन्ड रोविनका आधारमा हुने खेलमा ६ टिमको सहभागिता छ । साविक विजेता कर्णाली यश्विज, उपविजेता ललितपुर क्विन्स, घरेलु टिम पोखरा निन्जाज, मधेस युनाइटेड, काठमाडौं स्पाइकर्स र लुम्बिनी लाभाजले भदौ २६ गतेसम्म लिग चरणका खेल हुनेछन् । २७ गते रेस्ट डे अनि २८ गते लिगको पहिलो र दोस्रो स्थानमा हुने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
लिग अन्तर्गत शनिबार पनि ३ खेल हुँदै छन् । पहिलो खेलमा ललितपुर र काठमाडौं भिड्ने छन् भने दोस्रो खेलमा कर्णाली र लुम्बिनी खेल्नेछन् । शनिबारकै अन्तिम खेलमा पोखरा र मधेस खेल्दै छन् ।