कांग्रेस कास्की सभापति बराल आगामी चुनावमा उम्मेदवार नबन्ने

voiceofgandaki

पोखरा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसभित्र उम्मेदवार बन्ने दौडधूप चलिरहँदा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले भने आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

गत निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट पराजित भएका बरालले यसपटक टिकटको दाबी छाड्दै संगठन निर्माणमा केन्द्रित हुने बताएका हुन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले उम्मेदवार बन्दा चुनाव हारिने डरले पार्टीभित्रको बेथिति विरुद्ध बोल्न नसकिने अवस्था आउने भएकाले आफूले उम्मेदवारी नदिने निर्णय गरेको स्पष्ट पारेका छन् ।

‘उम्मेदवार भएपछि निर्वाचन हारिने डरमा पार्टीभित्र बढ्दै गएको अन्याय, अराजकता र बेथिति विरुद्ध बोल्न नसकिने कायरता मलाई स्वीकार्य भएन,’ बरालले लेखेका छन्, ‘त्यसैले म अहिले उम्मेदवार बन्न होइन, आवाज बन्न खोजेको हुँ ।’

उनले आफूले उम्मेदवारी नदिएको नभई अनुशासन र स्वाभिमानको जगमा घर (पार्टी) बलियो बनाउने निर्णय गरेको जिकिर गरेका छन् । कांग्रेसलाई व्यवस्थापन, अनुशासन र सम्मानको आधारमा निर्वाचन जित्न सक्ने सबल संगठन बनाउनु आफ्नो अबको लक्ष्य रहेको बरालको भनाइ छ । ‘कसैलाई जित्ने रहर नभएपछि हारिने डर पनि हुँदैन,’ उनले भनेका छन् ।

कास्कीमा आकांक्षीको लर्को, सभापति नै ‘रेसु’ बाहिर

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिसको काम धमाधम भइरहँदा जिल्ला सभापति नै चुनावी प्रतिस्पर्धाबाट बाहिरिनुलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

बरालको निर्वाचन क्षेत्र मानिने कास्की–१ मा यसपटक प्रत्यक्षतर्फ मात्रै १२ जनाले दाबी पेस गरेका छन् । अघिल्लो संसदीय निर्वाचनमा एमालेका मनबहादुर गुरुङसँग पराजित बरालले यसपटक पुनः दाबी गर्ने अपेक्षा गरिएको थियो । तर, आकांक्षीहरूको व्यवस्थापन जटिल बन्दै जाँदा र पार्टीभित्रको आन्तरिक गुटबन्दीका कारण उनले त्यागको बाटो रोजेको विश्लेषण गरिएको छ ।

कास्की कांग्रेसले क्षेत्र नम्बर १, २ र ३ बाट प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्न भेला तथा छलफल तीव्र पारेको छ ।

प्रतिक्रिया