पोखरा महानगरको राजस्व प्रणालीमा समस्या आउँदा कर तिर्न आउने सेवाग्राही मर्कामा

voiceofgandaki

पोखरा । पोखरा महानगरपालिकाले कर संकलनका लागि प्रयोग गर्दै आएको 'सुत्र रेभिन्यु मोडल' प्रणालीमा पटक-पटक समस्या देखिँदा सेवाग्राहीहरू गम्भीर मर्कामा परेका छन्। राजस्व प्रणाली अवरुद्ध हुँदा कर तिर्न आउने नागरिकले लामो समय प्रतीक्षा गर्नुपर्ने र कतिपय अवस्थामा कर नै नतिरी फर्किनुपर्ने बाध्यता सिर्जना भएको छ। यसले महानगरपालिकाको सेवा प्रवाह र नागरिकको विश्वासमा समेत नकारात्मक असर परेको भन्दै वडा नम्बर १३ का वडा अध्यक्ष किरण बरालले महानगर प्रशासनको ध्यानाकर्षण गराएका छन्।

बरालले बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै राजस्व प्रणालीलाई तत्काल भरपर्दो बनाउन माग गरे। व्यस्त जीवनशैलीका बाबजुद स्वेच्छिक रूपमा कर तिर्न आउने नागरिकले एउटै कामका लागि पटक-पटक कार्यालय धाउनुपर्ने अवस्था दुखद भएको उनले उल्लेख गरे। प्रविधिमा आधारित सेवा प्रवाह सहज र छिटो हुनुपर्नेमा उल्टै प्रणाली नचल्नु चुनौतीका रूपमा देखा परेको बरालको भनाइ छ। राजस्व प्रणाली सरल, छरितो र नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन उनले महानगरसँग आग्रह गरे।

'प्रणाली अवरुद्ध हुँदा सेवाग्राहीको समय खेर जानुका साथै महानगरपालिकाप्रतिको विश्वासमा समेत नकारात्मक असर परेको देखिन्छ,' बरालले ज्ञापनपत्रमा भनेका छन्। उनले राजस्व प्रणालीलाई स्थायी र भरपर्दो बनाएर सेवाग्राहीलाई सहज रूपमा कर तिर्ने वातावरण बनाउन प्रमुख प्रशासकीय अधिकृत समक्ष अनुरोध गरे। प्रविधिमा आधारित प्रणालीलाई सुधार नगरेसम्म सेवा प्रवाह प्रभावकारी हुन नसक्ने उनले औंल्याए।

प्राविधिक समस्याकै कारण नागरिकले समयमा कर तिर्न नपाएको अवस्थालाई ध्यानमा राख्दै बरालले राजस्व छुटको समयावधि थप गर्न माग गरेका छन्। पुस मसान्तसम्म रहेको छुटको अवधिलाई चैत मसान्तसम्म पुर्‍याउन उनले महानगरसँग अनुरोध गरे। सेवाग्राहीमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाह नै पोखरा महानगरपालिकाको पहिचान बन्नुपर्ने अपेक्षासहित उनले ज्ञापनपत्रमार्फत यो माग अघि सारेका हुन्। पुस १८ गते बुझाइएको उक्त ज्ञापनपत्रमा महानगरको राजस्व प्रशासनमा देखिएका समस्यालाई तत्काल समाधान गर्न जोड दिइएको छ।


प्रतिक्रिया