पोखरा । नेपाली लेखक संघ गण्डकीले सञ्चालन गर्दै आएको दौंतरीको चौथो शृंखला शनिबार पोखरामा भएको छ । यो शृंखलाका दौतरी थिए हरिदेवी कोइराला र सरस्वती श्रेष्ठ सरु । हरिदेवी लोक गाउनसँगै कविता सिर्जना गर्छिन् । सरस्वती गीत, कविता, गजल मुक्तक र नाटक सिर्जना गछिएन् । उमेरमा हरिदेवी अगाडि भए पनि उनीहरुबीच धेरै समानता छन् । हरिदेवी शिक्षण पेसाबाट अवकाश हुन् भने सरस्वती अहिले पनि शिक्षण पेसामै छन् ।
घरको चुलोचौको सँगै परिवारको रखवारी गर्दै साहित्य र कलाको क्षेत्रमा महिलालाई लाग्न त्यति सजिलो छैन । कार्यक्रमका सहजकर्ता एवं नेपाली लेखक संघ गण्डकीका अध्यक्ष ईश्वरमणि अधिकारीले दुवैजनालाई एकै खाले प्रश्नबाट कार्यक्रम सुरु गरे । उनले सोधेका थिए, एकजना महिला आमा भएर साहित्य सिर्जनामा लाग्न कत्तिको सहज वा असहज छ ?
लामो सास लिएर सरस्वतीले भनिन्, ‘काखमा नानी च्यापेर अक्षर खेती गर्न अनि चुलोचौको स्याहार्न कहाँ सजिलो छ र ? तै पनि परिवार नै सर्वोपरी हो भनेर म अगाडि बढेको हो ।’ अफ्ठेराका पहाडसँग जुध्दै यहाँसम्म आइपुगेको उनको भनाइ थियो ।
हरिदेवीले त महिलाले बाँचेको जीवनलाई काँडाघारीको संज्ञा दिइन् । भनिन्, ‘यात्रा यसै त असहज त्यसैमाथि पनि पहरामा कुइनो ठोकिएजस्तो ।’ मन खोलेर हाँस्दा छोरीमान्छेलाई उत्ताउली भन्ने जमानमा संगीत क्षेत्रमा लागेकी हरिदेवीको संघर्ष यात्रा झनै कठिन छ । बुवाको गालीबाट बच्न घरभन्दा पर बारीको पारामा लुकेर गीतको अभ्यास गरेको उनले स्मरण गरिन् । ‘छोरीबाट बुहारी भएर कला क्षेत्रको यात्रा गर्न झनै असहज थियो, बुहारी भएर गीत गाएर हिँड्ने, सारंगी बोक्ने भन्नेजस्ता प्रश्नहरु ममाथि बारम्बार तेर्सिइरहे,’ उनले सुनाइन् ।
‘पाइन खबर, घर फर्की आउनुहोस मेरो हजुर’ गीतबाट चर्चाको शिखरमा पुगेकी हरिदेवीले यही गीतकै कारण धेरैथरी कुरा सुन्नु प¥यो । ‘विचार हरिदेवी !’ भन्नेहरु थुप्रै थिए, यो त उनले आफ्नै पीडाको गीत गाएकी हुन् भन्नेहरु अझै पनि छन् । हरिदेवीकै पति रामबहादुर कोइरालाले पनि सुनेका रहेछन्, ‘हरिदेवीको श्रीमान् र म एउटै पल्टनमा काम गर्छौं’ भनेर गफ लाएको । रामबहादुर भने नेपालकै एक सरकारी बैंकमा जागिरे थिए । हरिदेवीको जोडी गीतमा भनेजस्तै होइन कि ‘चखेवा’ जोडीजस्तै छ ।
यस्तै प्रसंगहरु जोड्दै ईश्वरमणिले उनीहरुलाई कविता वाचनतिर दोहो¥याए । यस्ता कविता वाचन गर्ने भन्ने सल्लाह नभए पनि दुवैजनाले आमा शीर्षकै कविताबाट वाचन सुरु गरे । उनीहरुका कवितामा माटोको माया, देशप्रेम र यस्तै सन्दर्भहरु जोडिन्थे । ईश्वरमणिले दुवैलाई एउटै प्रश्न गरे, तपाईंहरुबीच कहिले र कसरी चिनजान भयो भनेर । दुवैजनाले तिथि मिति त भन्न सकेनन् । तर सन्दर्भ भने स्मरण गरे । पतिको जागिरका सिलसिलामा लमजुङ बसेकी हरिदेवी र लमजुङकै सोतीपसलमा जन्मेहुर्केकी सरस्वतीबीको भेट भने हरिदेवीकै घरमा भएको रहेछ । हरिदेवी खोज्दै पुगेकी रहिछन् सरस्वती । त्यसपछि उनीहरु एकछिन् विगत सम्झैर रमाए । अग्रज साहित्यकार सरुभक्तको अगुवाइमा चलेको संरक्षण कविता अभियानतिर उनीहरु पुगे । सिर्जनाकै लागि उनीहरु अन्नपूर्ण बेसक्याम्प जाने भए अरु साहित्यकारको टोलीसँग । ट्रेकिङमा जाने भनेपछि जुत्तामा ठाँटिएर यात्रा भयो । जसै विरेठाँटीतिर पुगेका थिए, जुत्ताले खुट्टा दुखाइ हाल्यो । हरिदेवीले भनिन्, ‘जुत्ता लगाउने बानी थिएन, पछि मोजासँग चप्पल लगाएर एबिसीसम्म पुगियो, सरु दाइले सजिलै छ भन्नुभयो, त्यस्तो छ भन्ने थाहा पाएको भने जान पनि के गरिन्थ्यो । त्यसमा सरस्वतीले थपिन्, ‘विदेशी पर्यटकहरु सबै हाम्रो खुट्टा देखेर अचम्म मान्थे, उनीहरु महँगा जुत्तामा ठाँटिएका हामीले मोजासँग चप्पल लगाएका, तर हामीलाई जाडो महसुस भने भएकै थिएन ।’ कुराकानीकै प्रसंगमा हरिदेवीले पछिल्लो समयमा लोकगीतको सुगन्ध कम भएसँगै मौलिकता हराएको बताइन् । झनै अहिले प्रविधिले जीवनको रसलाई मलीन बनाएको उनको भनाइ थियो ।
अग्रज साहित्यकार सरुभक्त र तीर्थबाट ‘दौंतरी’ कार्यक्रम थालेको संघले दोस्रो कार्यक्रममा दीपक समीप र जीवनसागर भण्डारीलाई उतारेको थियो । तेस्रो शृंखलामा सन्जीव पौडेल र अल्पज्ञानी नारिएका थिए ।