फूलबारीमा १८५ जनाको आँखा जाँच : १५ जनामा मोतियाबिन्दु, निःशुल्क शल्यक्रिया गरिने
voiceofgandaki
१५ मङ्सिर २०८२, आईतबार
पोखरा ।
पोखरा–११ फूलबारीमा शुक्रबार आयोजित निःशुल्क आँखा शिविरमा १८५ जनाले सेवा लिएका छन् । शिविरमा आँखा परीक्षण गराएकामध्ये १५ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।
फूलबारी क्लबको आयोजना र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीको उपचार निःशुल्क हुनेछ । अस्पतालले उनीहरूको शल्यक्रिया यही मंसिर २५ देखि २७ गतेसम्म गर्ने जनाएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए । सो अवसरमा मन्त्री थापाले यस्ता शिविरले विपन्न नागरिकलाई आर्थिक राहत मिल्ने बताए । ‘आँखाको उपचार निकै महँगो हुन्छ,’ उनले भने, ‘यस्ता शिविरले धेरैको जीवनमा उज्यालो छर्ने काम गरेका छन् ।’
क्लबका सहसचिव अनन्तराज आचार्यले संस्थाले स्वास्थ्यसम्बन्धी शिविरलाई भविष्यमा पनि निरन्तरता दिने बताए । कार्यक्रममा पोखरा–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, दृष्टि आँखा अस्पतालका अध्यक्ष शिवप्रसाद पोख्रेल, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो ।
क्लबका अध्यक्ष जनार्दन बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन संगीता आचार्यले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव सविना आचार्यले गरेकी थिइन् ।