पोखरा । एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा आएका हुन् । समूहको बैठक वैशाख २७ गतेसम्म पोखरामा चल्नेछ ।
कार्यशाला सहितको बैठकमा एसिया प्यासिफिकमा हवाई उड्डयनको क्षेत्रले भोगिरहेको वन्यजन्तुजन्य जोखिमको अवस्था, त्यसको न्यूनीकरण तथा समाधान र उड्डयन क्षेत्रलाई सुरक्षित बनाउने उपायहरूको खोजी गरिने विज्ञहरूले बताएका छन् । बैठकमा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुरक्षित हवाई यात्राको सुनिश्चितताका लागि विद्यमान जोखिमहरूको निदानमा जोड दिए । नेपाल सरकार यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याउने र प्रविधिमैत्री, सुविधायुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्ने कार्यमा प्रतिबद्ध रहेको उनले सुनाए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उड्डयन क्षेत्रको संवेदनशीलताप्रति आफूहरू सचेत रहेको उल्लेख गरे । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व नजिकै रहेको ल्यान्ड फिल साइट स्थानान्तरण गरी विमानस्थल सञ्चालनमा महानगरपालिकाले सहज वातावरण तयार ग¥यौँ’, उनले भने, ‘ल्यान्ड फिलको स्थानान्तरण सजिलो थिएन तर, आवश्यक थियो, कयौँ अप्ठ्याराको बिचबाट हामीले त्यसको व्यवस्थापन ग¥यौँ ।’
उनले विमानस्थलको संवेदनशीलता बुझेर तुरुन्त निर्णय लिएको उनको भनाइ छ । हवाई सेवालाई सुरक्षित बनाउन स्थानीय तहको सक्रियता र नेतृत्व उत्तिकै आवश्यक र प्रभावकारी हुने आचार्यले उल्लेख गरे । ‘राम्रो नीति, बलियो स्थानीय नेतृत्व र क्षेत्रीय सहकार्यबाट मात्रै हामी हाम्रो आकाशलाई अझ सुरक्षित बनाउन सक्छौँ,’ आचार्यले थपे, ‘हामी एक भू–परिवेष्टित देशका नागरिक हौँ, बद्लिँदो विश्व परिवेशमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सम्पर्क नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय बनिसक्यो, तसर्थ हामी हाम्रो सहरलाई हवाई सेवा मार्फत विश्वभर जोड्न चाहन्छौँ ।”
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई एसिया प्यासिफिक क्षेत्रका देशमा जोड्न सकिने सम्भावना खोजी गर्नसमेत उनले आग्रह गरे । सो क्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, आइकाओ एसिया प्यासिफिकका क्षेत्रीय उपनिर्देशक मन्जित सिंह लगायतले हवाई सेवालाई सबैको पहुँचमा पु¥याउँदै यसका विद्यमान जोखिमहरूको समाधानमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । बैठकमा एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञसहित सरकारी अधिकारीहरूको सहभागिता छ ।