पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न चाहनेको लर्को लागेको छ । कांग्रेसका क्षेत्रीय समितिहरूले आयोजना गरेको उम्मेदवार मनोनयन कार्यक्रममा प्रत्यक्ष र समानुपातिकतर्फ गरी ८० भन्दा बढी नेता–कार्यकर्ताले दाबी पेस गरेका छन् ।
केन्द्रको परिपत्रअनुसार उम्मेदवार छनोट प्रक्रिया सुरु भएसँगै कास्की क्षेत्र नम्बर १, २ र ३ मा आकांक्षीहरूको ताँती लागेको हो ।
क्षेत्र नम्बर १: प्रत्यक्षमा १२ जनाको दौड
कास्की क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बन्न १२ जनाले नाम दर्ता गराएका छन् । क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेका अनुसार प्रत्यक्षतर्फ कृष्णबहादुर केसी, तिलक रानाभाट, जीवन परियार, गुरु बराल, सुदीपमोहन भट्टराई, भानु ढकाल, प्रेम सुवेदी, पुष्पमणि भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ, गिरिराज गौतम र सोभिता कार्कीले दाबी पेस गरेका छन् ।
त्यस्तै, समानुपातिकतर्फ संज्ञा पोखरेल, कोपिला रानाभाट, दुर्गा लामिछाने, निशा मल्ल ठकुरी, इन्द्रमाया बानियाँ, लालकृष्ण शर्मा भट्टराई, लोककुमारी गुरुङ र खलिल मियाँ गरी ८ जनाको आवेदन परेको छ । आकांक्षीहरूबीच छलफल गर्न सोमबार भेला बोलाइएको छ ।
क्षेत्र नम्बर २: पुरानादेखि नयाँसम्म
कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ १३ जनाले उम्मेदवारी दिने इच्छा देखाएका छन् । जसमा वीरेन्द्रनारायण बिजुक्छे, देवराज गुरुङ, ऋषिराम काफ्ले, माधवप्रसाद बास्तोला (मधु) र सिरोज विजय कोइराला छन् ।
त्यस्तै, इन्जिनियर सिरस बास्तोला, लक्ष्मी पाण्डे, राजेन्द्र बराल, लक्ष्मी कार्की, गुरुप्रसाद बराल, किरण केसी, निर्दोष विक्रम पौडेल र माइकल कर्माचार्यले पनि प्रत्यक्षतर्फ नाम टिपाएका छन् ।
समानुपातिकतर्फ रङ्गीला आचार्य, उमा ठकुरी, शान्तिकुमारी गुरुङ, शोभाचन्द्र बराल र शकुन्तला कोइराला गरी ५ जनाको दाबी परेको छ ।
क्षेत्र नम्बर ३: सबैभन्दा धेरै आकांक्षी
सबैभन्दा बढी रस्साकस्सी कास्की क्षेत्र नम्बर ३ मा देखिएको छ, जहाँ प्रत्यक्षतर्फ मात्रै १६ जना आकांक्षी देखिएका छन् । यहाँ मनोज गुरुङ, विजय गुरुङ, देवेन्द्र केसी, महोदत्त पोखरेल, धर्मराज अधिकारी, सीता गुरुङ, डा कृष्णप्रसाद पौडेल र खिमलाल बास्तोलाले नाम दर्ता गराएका छन् ।
यसैगरी, रामचन्द्र त्रिपाठी, दुर्गा तिमिल्सिना, ठाकुर बराल, जीवनप्रसाद बास्तोला, भेषराज पराजुली, रामप्रसाद अधिकारी, यामकृष्ण पौडेल र लक्ष्मीप्रसाद पौडेल पनि प्रत्यक्षतर्फको दौडमा छन् ।
समानुपातिकतर्फ कृष्णकुमारी परियार, कमला बन्धु बराल, विजयालक्ष्मी कोइराला, सीता शर्मा, पार्वतीदेवी कोइराला, आइबहादुर गुरुङ, प्रभा सुवेदी, पशुपति भट्टराई, शारदा पौडेल, देवेन्द्रकुमार शेरचन, जितबहादुर गुरुङ, मनबहादुर विश्वकर्मा र भीमबहादुर गुरुङ गरी १३ जनाको नाम संकलन भएको छ ।
के छ छनोट प्रक्रिया ?
नेपाली कांग्रेस केन्द्रीय समितिले तल्ला तहबाट उम्मेदवार सिफारिस गर्न समयसीमा तोकेर परिपत्र गरेको छ । विधान र नियमावलीअनुसार क्षेत्रीय समितिले उम्मेदवारको नाम सिफारिस गर्दा पहिलो प्राथमिकता ‘सर्वसम्मत’ लाई दिनुपर्नेछ ।
क्षेत्रीय सचिव सरोज केसीका अनुसार आकांक्षीहरूबीच सहमतिको प्रयास गरिनेछ । यदि सहमति नजुटेमा बहुमत वा अन्य लोकतान्त्रिक विधिबाट बढीमा ३ जना (महिला अनिवार्य गरी) को नाम रायसहित जिल्ला र प्रदेश कार्यसमितिमार्फत केन्द्रमा पठाइनेछ ।
भूगोलमा लोकप्रिय, पार्टीमा निरन्तर क्रियाशील र चुनाव जित्न सक्ने क्षमता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सिफारिस गर्न केन्द्रले निर्देशन दिएको छ । क्षेत्रीय समितिबाट सिफारिस भई आएका नामहरूमध्येबाट पार्टीको केन्द्रीय संसदीय बोर्डले अन्तिम उम्मेदवार (टिकट) को टुंगो लगाउनेछ ।
२३ मङ्सिर २०८२, सोमबार ०७:०५ मा प्रकाशित