स्याङ्जामा पहिलोपटक पाण्डुलिपि विमर्श : वसन्त खनालको ‘निर्बन्ध’ माथि घनीभूत छलफल

voiceofgandaki

वालिङ (स्याङ्जा) । स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक पुस्तक प्रकाशनपूर्व नै पाण्डुलिपिमाथि विमर्श गरिएको छ। निबन्धकार वसन्त खनालको प्रकाशोन्मुख कृति ‘निर्बन्ध–आख्यान’ को पाण्डुलिपिमाथि मंगलबार वालिङमा अन्तरक्रिया सम्पन्न भएको हो।

‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६’ को ३९औं शृंखलाका रूपमा कार्यक्रम आयोजना गरिएको थियो। वालिङ–६ मिर्दीस्थित ‘नेचुरल भ्यु प्वाइन्ट रेस्टुरेन्ट’ को पुस्तकालय कक्षमा भएको कार्यक्रमलाई स्याङ्जाली साहित्यको इतिहासमै नौलो अभ्यासका रूपमा लिइएको छ। स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौं वर्ष प्रवेशको सन्दर्भ पारेर यो कार्यक्रम गरिएको हो।

कार्यक्रममा कृतिका सम्पादक एवं अभियानका संस्थापक संयोजक मिलन समीरले सहजीकरण गरेका थिए। सो अवसरमा वक्ताहरू शम्भु अर्याल र पारिश्वर न्यौपानेले पाण्डुलिपिमाथि केन्द्रित रहेर गहन समीक्षात्मक टिप्पणी गरे। उनीहरूले कृतिका सबल पक्ष र सुधार गर्नुपर्ने विषयमा स्रष्टा खनाललाई सुझाव दिएका थिए।

कार्यक्रममा अग्रज कवि ध्रुवप्रसाद शर्मा पंगेनी र साहित्यप्रेमी चक्र डुम्रेले नयाँ शैलीको आख्यान कृति आउन लागेकोमा खुसी व्यक्त गर्दै शुभकामना दिए। लेखक खनालले प्राप्त सुझावलाई समेटेर कृतिलाई पाठकमाझ ल्याउने बताए।

प्रतिक्रिया