काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई जनताको चाहनाअनुसार सच्चिन आग्रह गर्दै चुनावको विकल्प नभएको स्पष्ट पारेकी छन्। सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले दलहरूले पुरानै ढिपी (मेरो गोरुको बाह्रै टक्का) कसिरहे सफल नहुने चेतावनी दिएकी हुन्।
सबै राजनीतिक दलहरू चुनावको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आगामी २१ फागुनमा हुने निर्वाचनलाई परिवर्तनको मार्गका रूपमा लिनुपर्ने बताइन्। ‘कुन दललाई के कुरामा चित्त बुझेको छैन, त्यो आ–आफ्नो कुरा हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर यो देशका सर्वेसर्वा जनता जनार्दन हुन्। राजनीतिक दलहरू जनताका सेवक हुन्। अहिले जनताको माग के छ र उनीहरूमा कस्तो प्रभाव परेको छ भन्ने कुरामा दलहरूले ध्यान दिनुपर्छ।’
विगतका कमजोरीका कारण गत २३ र २४ भदौमा ‘जेन–जी’ आन्दोलन भएको स्मरण गराउँदै उनले भागबण्डा नमिलेको आवेग जनतामाथि नखन्याउन दलहरूलाई सचेत गराइन्। ‘हिजो जे त्रुटि भए, जसको परिणाम भदौ २३ र २४ का घटनामा देखियो, त्यसको आवेग आज हामीले सहिरहेका छौँ,’ उनले भनिन्, ‘जनताले परिवर्तन खोजेका छन् भने दलहरू पनि सच्चिनुपर्छ।’
प्रधानमन्त्री कार्कीले ‘जेन–जी’ र राजनीतिक दल दुवै पक्षबाट सरकारमाथि निरन्तर आक्षेप आइरहेको गुनासो गरिन्। आफूहरू कसैको पनि ‘अचानो’ नभएको उनको भनाइ छ। ‘जेन–जी र राजनीतिक दल दुवैबाट आलोचना भइरहे पनि हामी अचानो होइनौँ,’ उनले भनिन्, ‘हामी जेन–जीको रगतमा रमाउन सरकारमा आएका होइनौँ। तर, मुलुकका निम्ति आएका सबै आक्षेप सहन तयार छौँ।’
सबै राजनीतिक दल एकताबद्ध भएर शान्ति चाहने हो भने कसैले पनि अशान्ति फैलाउन नसक्ने उनले दाबी गरिन्। आगामी २१ फागुनको निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सबैको सहयोग आवश्यक रहेकोमा उनले जोड दिइन्।
जेन–जी आन्दोलनपछि २७ भदौमा अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी कार्कीले सुशासन र निर्वाचनलाई नै सरकारको मुख्य एजेन्डा बनाएको बताउँदै आएकी छन्।
७ पुस २०८२, सोमबार ०८:३१ मा प्रकाशित