पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी

voiceofgandaki

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक विनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले उनीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मुनकर्मी हाल प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख हुन् । आयोगले उनीसँग २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

आयोगले मुनकर्मी सेवा प्रवेश गरेको २०५४ फागुन १ देखि २०८० मंसिर १४ गतेसम्मको आम्दानी र खर्च विवरण अनुसन्धान गरेको थियो । सो अवधिमा उनको वैध आय ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ देखिएको छ । तर, खर्च तथा लगानी भने ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ भेटिएको आयोगले जनाएको छ ।

आम्दानीभन्दा खर्च बढी देखिएको रकमको स्रोत नखुलेपछि आयोगले भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाही माग गरेको हो । बिगो जफत प्रयोजनका लागि मुनकर्मीकी श्रीमती पूर्णकुमारी गोसाईलाई पनि प्रतिवादी बनाइएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

टीकापुर जग्गा प्रकरणमा सर्वोच्चमा पुनरावेदन

यसैबीच, अख्तियारले टीकापुर नगर विकास समितिको जग्गा अनियमितता प्रकरणमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतको फैसलामा चित्त नबुझेपछि आयोग सर्वोच्च गएको हो ।

सार्वजनिक जग्गा कानुनविपरीत व्यक्ति तथा संघसंस्थालाई बाँडेको आरोपमा आयोगले २०८० माघ २५ गते २४९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले २०८१ पुस २५ गते गरेको फैसलामा केहीलाई सफाइ दिएको थियो ।

फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै आयोगले समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहितका प्रतिवादीलाई कारबाही हुनुपर्ने जिकिर गरेको छ । नगर विकास ऐन २०४५ र निर्देशिका २०६१ विपरीत मिलेमतोमा जग्गा वितरण गरिएको आयोगको दाबी छ ।

प्रतिक्रिया