पोखरा ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा आगजनी र लुटपाट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापतिसहित ४ जना जेल चलान भएका छन् । कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सोमबार आपराधिक उपद्रव तथा डाँका–चोरी मुद्दामा सुनुवाइ गर्दै ४ जनालाई थुनामा पठाउने र एक जनालाई धरौटीमा छाड्ने आदेश गरेको हो । थुनामा जानेमा रास्वपा पोखरा–१० का निलम्बित वडा सभापति चन्द्रबहादुर थापा ‘राइ’, विमला सापकोटा (विना मल्ल), चीनबहादुर खवास (बुद्ध खवास ठकुरी) र एकजना नाबालक छन् ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चन्द्रबहादुरका भाइ हरिबहादुर थापा (खली) भने २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अदालतले मेयरको घरभित्रका सामान जलाएको र लुटपाट गरेको प्रमाणका आधारमा उनीहरूलाई कारागार पठाएको हो ।
गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा आन्दोलनकारीले मेयर आचार्यको निजी निवासमा दिउँसो तोडफोड गरी लुटपाट गरेका थिए भने राति आगजनी गरेका थिए । घटनामा संलग्न भएको भिडियो बाहिरिएपछि रास्वपाले थापालाई पक्राउ पर्नुअघि नै पार्टीबाट निलम्बन गरेको थियो । मेयर आचार्यले घटनामा संलग्नहरू विरुद्ध फोटो र भिडियो प्रमाणसहित किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार आन्दोलनका क्रममा जिल्लामा हालसम्म ५७ जना पक्राउ परेका छन् । तीमध्ये १४ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
आन्दोलनका क्रममा कास्कीमा सरकारी, निजी र व्यावसायिक गरी ११६ वटा संरचनामा क्षति पुगेको थियो । तोडफोड र आगजनीबाट सरकारी संरचनातर्फ करिब सवा २ करोड रुपैयाँ क्षति भएको अनुमान छ । निजी क्षेत्रले भने करिब साढे ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको छ । भदौ २४ गतेदेखि भड्किएको आन्दोलनमा होटल, रिसोर्ट, व्यावसायिक प्रतिष्ठान र नेताका घरहरू निसानामा परेका थिए ।
१७ मङ्सिर २०८२, मङ्गलबार ०६:४७ मा प्रकाशित