कांग्रेस नेतृत्वलाई गण्डकी उसपसभापति मेखलालको चेतावनी : पुरानै सदस्यबाट मंसिरभित्रै महाधिवेशन नगरे इतिहासले माफ गर्ने छैन

voiceofgandaki

पोखरा ।


नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले पार्टीको क्रियाशील सदस्यताको विवाद तत्काल टुंग्याएर यही मंसिरभित्रै १५ औं महाधिवेशन गर्न केन्द्रीय नेतृत्वसँग माग गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठक लामो समयदेखि अनिर्णित बनिरहेको अवस्थामा उपसभापति श्रेष्ठले सामाजिक सञ्जालमार्फत नेतृत्वलाई सचेत गराउँदै देशको अवस्था नाजुक रहेकाले कांग्रेसले तत्काल निकास दिनुपर्ने धारणा राखेका हुन् ।

महाधिवेशनको मुख्य बाधक मानिएको क्रियाशील सदस्यताको गाँठो फुकाउन श्रेष्ठले नेतृत्वलाई व्यवहारिक उपायसमेत सुझाएका छन् । उनले १४ औं महाधिवेशनमा भाग लिएका पुराना सदस्यलाई नै मान्यता दिनुपर्ने र मृत्यु भएका वा पार्टी छाडेकाको नाम हटाएर बाँकीलाई सदर गर्न आग्रह गरे । साथै, नयाँ पुस्ताका ‘जेनजी’ साथीहरुलाई समेट्न केही दिनभित्रै नयाँ सदस्यता दिई प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ । कसको दबाब र कस्तो शक्तिको चलखेलले महाधिवेशन रोकिएको हो भन्दै उनले नेतृत्वप्रति प्रश्नसमेत उठाएका छन् ।

अन्तर्राष्ट्रिय शक्ति र आम नेपाली जनताले कांग्रेसको निर्णय कुरिरहेको बेला पार्टी आन्तरिक विवादमा अल्झिन नहुने श्रेष्ठले बताए । देशको अवस्था अत्यन्त ‘क्रिटिकल’ मोडमा पुगेको र नेपाल नै रहने कि नरहने भन्ने प्रश्न उब्जिएको सन्दर्भमा महाधिवेशन कहिले र कसरी गर्ने भन्ने विवादमा फस्नु दुर्भाग्यपूर्ण हुने उनको तर्क छ । कांग्रेसले विगतमा जस्तै संकटको बेला देशलाई निकास दिनुपर्नेमा उनले जोड दिए ।

यदि यो वा त्यो बहानामा महाधिवेशन टार्ने काम भएमा इतिहासले सभापति, महामन्त्री लगायत कुनै पनि पदाधिकारीलाई माफ नगर्ने चेतावनी श्रेष्ठले दिएका छन् । उनले गाउँदेखि विदेशसम्मका कार्यकर्ता र शुभचिन्तकको भावनालाई बुझेर तत्काल निर्णयमा पुग्न सभापति शेरबहादुर देउवा लगायतका पदाधिकारीलाई आग्रह गरेका छन् । केन्द्रीय समितिले तत्काल निकास निकालेर सबैलाई एकजुट बनाई आगामी निर्वाचनमा होमिनुपर्ने विचार उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया