काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा लुम्बिनी लायन्सले दोस्रो जित हात पारेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ३ विकेटले हराउँदै लुम्बिनीले महत्त्वपूर्ण २ अंक जोडेको हो ।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले खेल सकिन २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले जिम्मेवारीपूर्ण ब्याटिङ गरे । उनले ३६ बलमा ३ चौका र २ छक्कासहित ४० रन बनाए । यस्तै विकेटकिपर निरोशन डिकवेलाले २२ बलमा ३७ रनको विस्फोटक इनिङ खेले । उनले २ चौका र २ छक्का प्रहार गरे ।
बलिङतर्फ पोखराका सागर ढकाल, म्याट टेलर र विपिन खत्रीले समान २–२ विकेट लिए । जिम्मी निशमले १ विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो । पोखराका लागि एडम रोसिङ्टनले उत्कृष्ट ब्याटिङ गरे पनि टिमलाई जिताउन सकेनन् । उनले ६३ बलमा ७ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए । जिम्मी निशमले ३२ बलमा ३ चौका र ३ छक्कासहित ५१ रनको योगदान गरे ।
पोखरालाई रोक्न लुम्बिनीका बलर शेर मल्ल र तिलक भण्डारीले २–२ विकेट लिए । गुल्बदिन नइबको नाममा १ विकेट रह्यो ।
यो नतिजासँगै ५ खेल खेलेको लुम्बिनी ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । लुम्बिनीले यसअघि चितवन राइनोजलाई हराएको थियो भने कर्णाली याक्स, काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
उता ४ खेलमा ३ हार बेहोरेको पोखरा २ अंकसहित सातौं स्थानमा छ । पोखराले यसअघि जनकपुर बोल्ट्सलाई हराएको थियो भने विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो ।
१४ मङ्सिर २०८२, शनिवार ०८:१४ मा प्रकाशित