दरौंखोला सामीप्य समाजको अध्यक्षमा पुनः बोधराज गौतम : विद्यार्थी र पूर्वपदाधिकारी सम्मानित

voiceofgandaki

पोखरा । दरौंखोलाबाट पोखरा आई बसोबास गर्नेहरूको संस्था ‘दरौंखोला सामीप्य समाज’ को अध्यक्षमा बोधराज गौतम पुनः चयन भएका छन्। शनिबार पोखराको कालिस्थानस्थित ठुलाकोटमा सम्पन्न तेस्रो अधिवेशन तथा साधारणसभाले गौतमको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट समाजको उपाध्यक्षमा गंगाराम पौडेल, सचिवमा मीनप्रसाद तिवारी, कोषाध्यक्षमा मन्जु कार्की र सहसचिवमा सीता कार्की निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यहरूमा शोभित रोका, क्याप्टेन मीन कार्की, क्याप्टेन गुप्तबहादुर रोका, गंगा केसी, टीकाराम पौडेल र प्रेमबहादुर क्षेत्री चयन भए। यस्तै, ‘दिदीबहिनी क्वालिटी सर्कल’ को संयोजकमा जमुना खड्का र सहसंयोजकमा लता क्षेत्री चयन भएको समाजले जनाएको छ।

विद्यार्थी र अग्रज सम्मानित
कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने सदस्य परिवारका विद्यार्थीलाई सम्मान गरिएको छ। एसइई परीक्षामा ४ जिपिए ल्याउने इसिभा पौडेल र कक्षा १२ को बोर्ड परीक्षामा सर्वोत्कृष्ट जिपिए ल्याउने सञ्जल गौतमलाई सम्मान गरिएको हो।

यसैगरी, संस्थागत योगदान पुर्याएको भन्दै संस्थापक अध्यक्ष शोभित खड्का, निवर्तमान सचिव डोलराज अर्याल, सहसचिव डिल्लीराम अर्याल, कोषाध्यक्ष जमुना अर्याल, अञ्जु क्षेत्री, क्वालिटी सर्कल संयोजक माया न्यौपाने र सदस्य शान्ति गोदारलाई पनि सम्मान गरिएको थियो।

प्रमुख अतिथि एवं संस्थाका संरक्षक डा. वेदबहादुर क्षेत्रीले समाजलाई दुःखसुखको साझा चौतारी बनाउनुपर्नेमा जोड दिए। संस्थाले आपसी आत्मीयता र भाइचारा बढाउन वनभोजसहित साधारणसभा आयोजना गरेको हो।

कार्यक्रममा संस्थापक अध्यक्ष शोभित खड्का, सल्लाहकार शिवप्रसाद अर्याल, संरक्षक बद्री रोका, प्रेमनारायण पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए। अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नम रोका र स्वागत उपाध्यक्ष गंगाराम पौडेलले गरेका थिए।

प्रतिक्रिया