सबल निजी क्षेत्रविना पत्रकारिताको मेरुदण्ड बलियो हुँदैन: सम्पादक कोइराला

voiceofgandaki

पोखरा ।


“विज्ञापन बजार खुम्चिएको छ, धेरै मिडिया हाउस बन्द हुने वा जनशक्ति कटौती गर्ने अवस्थामा छन् । यस्तो अवस्थामा एक सबल र नैतिकवान् निजी क्षेत्रविना व्यावसायिक पत्रकारिताको आर्थिक मेरुदण्ड बलियो हुन सक्दैन ।”

शुक्रबार पोखरामा आयोजित एक समारोहबीच ‘निट पत्रकारिता पुरस्कार’ ग्रहण गरेपछि समाधान न्युजका सम्पादक भरत कोइरालाले वर्तमान पत्रकारिताको यथार्थ चित्रण गर्दै माथिको भनाइ राखे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले सञ्चालन गरेको यो पुरस्कारबाट सम्मानित हुँदै कोइरालाले पत्रकारिता संक्रमणकाल र आर्थिक मन्दीको दोहोरो चपेटामा रहेको बताए ।

निट डेन्टल केयर प्रालिको तेस्रो वार्षिकोत्सवमा पोखरा महानगरका मेयर धनराज आचार्यले कोइरालालाई २५ हजार ५ सय ५५ रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरे । फोनिजले स्थापना गरेको पुरस्कार गैर–जनजाति मूलका पत्रकारलाई प्रदान गरिनुले समाजमा समावेशीताको राम्रो सन्देश गएको मेयर आचार्यले बताए ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय कोइराला स्याङ्जाका स्थायी बासिन्दा हुन् । २०५९ सालदेखि कलम चलाउँदै आएका उनी हाल समाधान मिडिया ग्रुपमा सम्पादकको जिम्मेवारीमा छन् भने प्राध्यापन क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।

निट डेन्टलले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ लाखको अक्षयकोष स्थापना गरी यो पुरस्कारको सुरुआत गरेको प्रबन्ध निर्देशक वीरबहादुर रानाले जानकारी दिए ।


प्रतिक्रिया