पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले अन्नपूर्ण गाउँपालिका–८ की निरुता नेपालीका ३ सन्तानलाई आमाको नामबाट नागरिकता प्रदान गरेको छ। बुबा बेपत्ता भएपछि नागरिकता पाउनबाट वञ्चित भएका निरुताका छोराद्वय सुजन र दिनेश तथा छोरी सुस्मिता नेपालीले आइतबार जिल्ला प्रशासनबाट आमाको नाममा नागरिकता पाएका हुन्।
निरुताको पूर्वी नेपाल घर बताउने विक्रम राईसँग सम्बन्ध कायम भई सन्तान जन्मिएका थिए। तर, राई श्रीमती र ४ सन्तानलाई छाडेर बेपत्ता भएपछि बाबुको पहिचान खुल्ने कागजात र प्रमाण पेस गर्न नसक्दा उनीहरूले नागरिकता पाउन सकेका थिएनन्।
गत १२ मंसिर २०८२ मा अन्नपूर्ण गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। सोही कार्यक्रममा निरुताले आफ्ना सन्तानको जन्मदर्ता र नागरिकता प्राप्तिमा समस्या भएको गुनासो गरेकी थिइन्।
विषय उठान भएलगत्तै जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँग समन्वय गरी उनीहरूको जन्मदर्ता गराउन सहजीकरण गरेको थियो।
बाबुको ठेगान नभएपछि अन्नपूर्ण गाउँपालिका–८ बाट जारी भएको जन्मदर्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिस, वडा मुचुल्का र प्रहरी मुचुल्काका आधारमा नागरिकता दिइएको प्रशासनले जनाएको छ।
नागरिकता ऐन, नियमावली र नागरिकता वितरण कार्यविधिबमोजिमका प्रमाण र तथ्य बुझेर आमाको नामबाट प्रमाणपत्र वितरण गरिएको हो। लामो समयदेखि अनागरिक भएर बस्नुपरेको पीडा प्रशासनको पहलसँगै अन्त्य भएपछि निरुताको परिवार खुसी देखिएको छ।
२० पुस २०८२, आईतबार ०८:०६ मा प्रकाशित