जीवित आशा गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायल ल्याइँदै

भ्वाइस अफ गण्डकी

काठमाडौं। लामो प्रतीक्षापछि इजरायलमा अपहृत नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी र टाइम्स अफ इजरायलले सोमबार प्रकाशित गरेका समाचारअनुसार जोशीको शव इजरायल ल्याउने तयारी भइरहेको छ ।

टाइम्स अफ इजरायलले लेखेको छ – ‘इजरायल र हमासबीच जारी युद्धका बीच हमासले आज चार जना मृत बन्दीको नाम सार्वजनिक गरेको छ, जसमा एक नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । ती शवहरू आजै रेडक्रसलाई हस्तान्तरण गर्ने तयारी भइरहेको बताइएको छ ।’

हमासले सार्वजनिक गरेको सूचीमा रहेका चार जना हुन् – गाई इलुज, योसी साराबी, विपिन जोशी र ड्यानियल पेरेज । विज्ञप्तिमा शव हस्तान्तरणको समय भने स्पष्ट गरिएको छैन ।

कृषि अध्ययनका लागि इजरायल पुगेका जोशी विगत ७३८ दिनदेखि हमासको नियन्त्रणमा रहेका थिए । हमासले अब उनको शव इजरायललाई बुझाउने बताएको छ ।

अन्य मृतकहरूमध्ये इलुजलाई नोभा संगीत उत्सवबाट अपहरण गरिएको थियो । गाजास्थित अस्पतालमा उपचार नपाउँदा सन् २०२३ डिसेम्बरमा उनको मृत्यु भएको पुष्टि गरिएको थियो ।

ड्यानियल पेरेज २२ वर्षीय इजरायली सैनिक थिए, जो सेनाको सातौँ आर्मर्ड ब्रिगेडका पल्टुन कमाण्डरका रूपमा कार्यरत थिए । उनी २०२३ अक्टोबर ७ मा हमाससँगको लडाइँमा मारिएका थिए । त्यस्तै, ५३ वर्षीय योसी साराबीलाई सोही दिन आफ्नै घरबाट अपहरण गरिएको थियो र बन्धक अवस्थामा हत्या गरिएको थियो ।

इजरायली सेनाका अनुसार रेडक्रसका प्रतिनिधिहरू दक्षिण गाजातर्फ प्रस्थान गरिरहेका छन्, जहाँ चारैजनाको शव बुझाउने तयारी भइरहेको छ ।

यो घटनाले सन् २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणपछिको इजरायल–हमास द्वन्द्वको मानवीय आयाम पुनः सतहमा ल्याएको छ । उक्त आक्रमणमा सयौँले ज्यान गुमाएका थिए र अहिले पनि कैयौँ बन्दीहरूको अवस्था अज्ञात रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार, इजरायलसँगको अस्थायी युद्धविरामपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्दीलाई सोमबार मुक्त गरिसकेको छ । बाँकी २८ जनाको मृत्यु भएको ठानिएको र उनीहरूको शव पनि सोमबारसम्म फिर्ता गरिने जनाइएको छ ।

हमासको सैन्य एकाइका अनुसार, सोमबार अबेर जोशीसहित चार जना मृत बन्दीहरूको शव हस्तान्तरण गरिने तयारी गरिएको छ ।

प्रतिक्रिया