पोखरा ।
तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासको आरोपमा प्रहरीमा जाहेरी दर्ता गरिएको छ।
पीडित भनिएका ५७ वर्षीय प्रभात आलेले अध्यक्ष श्रेष्ठले घरमै बोलाएर आफूलाई कुटपिट गर्दै ज्यान मार्न खोजेको आरोप लगाएका हुन्। भीमादको मालेबजारस्थित उक्त जग्गा विषयमा दुवै पक्षबीच सात–आठ वर्षदेखि विवाद रहँदै आएको थियो। श्रेष्ठले विगतमा आले परिवारको नाममा रहेको जग्गा खरिद गरेका थिए।
प्रभात आलेका अनुसार, गाउँपालिका अध्यक्ष श्रेष्ठले "बुझाबुझ गरौं" भन्दै घरमा बोलाएर एक्कासी कुटपिट गरे। उनी घाइते भएपछि प्रहरीमा उजुरी दिएका थिए। प्रारम्भमा कुटपिटको क्षतिपूर्ति माग गर्दै ठाडो जाहेरी दिइएको भए पनि पछि ज्यान मार्ने उद्योगसम्बन्धी आरोपसमेत जोडिएको विस्तृत जाहेरी हुलाकमार्फत दर्ता गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए।
प्रहरी निरीक्षक थापाका अनुसार, घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ। "घाउको परीक्षण तथा घटनाको प्रकृति बुझ्ने प्रक्रिया चलिरहेको छ," उनले भने, "यो मुद्दालाई कसरी अघि बढाउने भन्ने विषयमा सरकारी वकिलको कार्यालयसँग छलफल भएको छ। अनुसन्धान जारी छ।"
उनले पीडित प्रभात आले र अध्यक्ष श्रेष्ठ दुवै प्रहरी सम्पर्कमै रहेको पनि बताए।
प्रभात आले कांग्रेसका पूर्वसांसद पदमबहादुर आलेका छोरा तथा गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका हालका सांसद जीतप्रकाश आलेका भाइ हुन्।