पोखरा।
फोटोग्राफर संघ गण्डकीले आफ्नो स्थापना दिवस तथा १८६ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ।
संघले फोटोग्राफरहरूको सम्मान, प्रविधिको ज्ञान, व्यवसायीहरूलाई उत्साह र फोटोग्राफरहरूको मनोबल उच्च बनाउने उद्देश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका महासचिव प्रेमप्रसाद पराजुलीले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र संस्थाका अध्यक्ष नारायणबहादुर केसीले ब्यानर खोलेर प्रतियोगिताको शुभारम्भ गरे।
कार्यक्रमको समुद्घाटनपश्चात् सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले 'फोटोग्राफी क्षेत्रमा फोटोग्राफर संघ गण्डकीले देशैभरिका फोटोग्राफरहरूलाई प्रोत्साहित गर्नका लागि स्थापना गरेको यो प्रतियोगिता निकै सराहनीय कार्य भएको' बताए। उनले पत्रकारिता क्षेत्रमा फोटोको निकै ठूलो महत्त्व हुने हुँदा पत्रकारिता र फोटोग्राफीको नङ र मासुको सम्बन्ध रहेको बताए।
भदौ २० गते संघको स्थापना दिवसमा समापन हुने प्रतियोगिताअन्तर्गत 'मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिता' का लागि विभिन्न ६ वटा विधा सार्वजनिक गरिएको छ। जसमा बेस्ट फोटो अवार्ड, ब्राइड एन्ड ग्रुम हेड सट, बेस्ट कलरिङ एन्ड रिटचिङ, बेस्ट मोमेन्ट क्याप्चरिङ, बेस्ट कपल पोजिङ र बेस्ट कल्चर गरी ६ वटा विधा रहेका छन्।
बेस्ट वैवाहिक फोटो अवार्डका लागि रु. १५,५५५ नगद, ट्रफी र प्रमाणपत्र रहेको छ भने अन्य विधामा ट्रफी र प्रमाणपत्र रहेका छन्। 'मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिता' वर्षभरि नै सामाजिक सञ्जाल तथा संस्थाको फेसबुक पेजमार्फत चलिरहेको छ। प्रत्येक महिनाका उत्कृष्ट प्रतियोगीहरूलाई समेत गुगल फर्ममार्फत समेटेर छनोट गरिने र वैवाहिक फोटो प्रतियोगितामा नेपालका विभिन्न जातजातिका धार्मिक एवम् सांस्कृतिक पहिचानलाई प्राथमिकतामा राखेर पुरस्कृत गर्नुपर्ने अक्षयकोषदाता भक्तबहादुर तामाङले बताए। मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिताका लागि मिराज फोटोका सञ्चालक भक्त तामाङ र बृहस् तामाङले रु. २ लाखको अक्षयकोष स्थापना गरिदिएका छन् र त्यसैबाट प्राप्त ब्याजबाट पुरस्कृत गरिँदै आएको छ।
यसैगरी संस्थाका वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदीले फोटो व्यवसायीहरूको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको वैवाहिक फोटोग्राफीको उजागरका साथै हौसला र सम्मानका लागि प्रतियोगिता आयोजना गरिएको बताए। उनले संस्थाले गण्डकी प्रदेशलाई विश्वभरि नै चिनाउने उद्देश्यका साथ यहाँका प्राकृतिक छटाहरूलाई उजागर गर्ने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागि 'नेचर एन्ड ल्यान्डस्केप' विधामा पनि प्रतियोगिता घोषणा गरिएको जानकारी दिए।
नेचर एन्ड ल्यान्डस्केप विधाअन्तर्गतका फोटोहरू गण्डकी प्रदेशभित्रको हुनुपर्नेछ भने देशैभरिका फोटोग्राफरहरू यस प्रतियोगितामा भाग लिन पाउनेछन्। उक्त प्रतियोगितामा बेस्ट फोटोले नगद रु. १०,००१, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट १० तस्बिरलाई पुरस्कृत गरिनेछ।
कार्यक्रममा पर्वत फोटोग्राफर संघका अध्यक्ष तथा पर्वत जिल्ला संयोजक विजय शर्मा जैसी, संस्थाका पूर्व सल्लाहकार तथा पत्रकार इन्द्रप्रसाद पौडेल, नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सदस्य रविनाथ दाहाल, प्रेस स्वतन्त्रता सेनानी पदमपाणि रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामचन्द्र पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव प्रेमप्रसाद पराजुलीले गरेका थिए।
१८ साउन २०८२, शनिवार ०४:४० मा प्रकाशित