कास्कीमा एक वर्षमै १९ करोडको अनलाइन ठगी : सचेत रहन एसपी कार्कीको आग्रह

voiceofgandaki

पोखरा । कास्कीमा पछिल्लो समय अनलाइन ठगीका घटना भयावह रूपमा बढेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी नवीन कार्कीले जिल्लामा एक वर्षको अवधिमा मात्रै अनलाइनमार्फत १९ करोड रुपैयाँ ठगी भएको तथ्यांक सार्वजनिक गरेका छन्।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको २२औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै एसपी कार्कीले यस्तो खुलासा गरेका हुन्। उनले अनलाइन ठगी नियन्त्रणका लागि प्रहरी, सामुदायिक प्रहरी र स्थानीय बासिन्दा मिलेर सचेतना जगाउनुपर्नेमा जोड दिए।

‘जान्नेबुझ्ने भनिएका मानिस नै प्रलोभनमा परेर फसिरहेका छन्,’ एसपी कार्कीले भने, ‘घर छेउको छिमेकीलाई सापटी नदिनेहरू चिन्दै नचिनेका व्यक्तिलाई लाखौं रुपैयाँ दिइरहेका छन्।’ उनले एउटै व्यक्ति अनलाइनमार्फत १ करोड २१ लाख रुपैयाँसम्म ठगिएको उजुरी प्रहरीमा आएको सुनाए।


एसपी कार्कीले लेकसाइड क्षेत्रमा सवारीसाधनको चापले जाम बढेको भन्दै यसको निराकरणका लागि पर्यटन व्यवसायी र सामुदायिक प्रहरीसँग छलफल गरेर अघि बढ्ने बताए।

कार्यक्रममा पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले वडा कार्यालय फेवाताल संरक्षणमा जुटेको बताए। उनले तालमा पुरिएको माटो झिक्ने काम अघि बढेको जानकारी दिँदै विकास निर्माणमा कतिपय व्यक्तिले मुद्दा मामिला गरेर अवरोध पुर्याउँदा काममा ढिलाइ भएको गुनासो गरे।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, वातावरण संरक्षण महाअभियानका संयोजक रामबहादुर पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष कुमारी मुना बास्तोला, महिला सञ्जाल पोखरा–६ की अध्यक्ष बबिता मल्ल लगायतले शुभकामना दिएका थिए। वक्ताहरूले फेवातालको सिरान र सिमसार क्षेत्र पुर्ने काम तत्काल रोक्नुपर्नेमा जोड दिएका छन्।

केन्द्रका अध्यक्ष ठाकुर बरालको अध्यक्षतामा सम्पन्न साधारणसभाले सचिव शान्ता तिमिल्सिना र कोषाध्यक्ष निर्मला थापाको प्रतिवेदन पारित गरेको छ। कार्यक्रममा उपाध्यक्ष अनिल थापाले स्वागत गरेका थिए।

प्रतिक्रिया