पोखरा । पोखरा–१३ स्थित भद्रकाली माध्यमिक विद्यालयका विद्यार्थीले किताबी ज्ञानलाई व्यवहारमा उतार्न स्थलगत अभ्यास गरेका छन्। कक्षा ११ मा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीले सोमबार नजिकैको ऐतिहासिक भद्रकाली मन्दिर पुगेर ‘रिपोर्टिङ’ अभ्यास गरेका हुन्।
कक्षाकोठामा पढेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने उद्देश्यले आयोजित अवलोकन भ्रमणमा विद्यार्थीहरू उत्साहित देखिएका थिए। विद्यालयबाट करिब २० मिनेटको पैदल यात्रापछि मन्दिर पुगेका उनीहरू सूचना संकलनमा सक्रिय भए। विद्यार्थीले नोटबुकमा टिपोट गर्ने, मोबाइलमार्फत तस्बिर र भिडियो खिच्ने तथा मन्दिरको वास्तुकला कैद गर्ने काम गरे।
पत्रकारिताका विद्यार्थीको आँखाले सम्पदालाई हेर्ने र त्यसको महत्त्व उजागर गर्ने ध्येयले अवलोकन गराइएको विद्यालयले जनाएको छ। विद्यार्थीले मन्दिरका पुजारी, स्थानीय बासिन्दा र दर्शनार्थीसँग कुराकानी गर्दै सूचना लिने र अन्तर्वार्ता गर्ने अभ्याससमेत गरेका थिए।
भ्रमणमा सहभागी छात्रा सरिता विश्वकर्माले कक्षाकोठाको सिकाइलाई ‘फिल्ड’ मा प्रयोग गर्दा नौलो अनुभव भएको बताइन्। ‘किताबमा समाचार कसरी लेख्ने भनेर पढेका थियौं, आज यहाँ आएर प्रत्यक्ष रूपमा सूचना संकलन गर्दा पत्रकारिताको वास्तविक मज्जा अनुभव भयो,’ उनले भनिन्।
विद्यार्थीले मन्दिरको उत्पत्ति, धार्मिक विश्वास र टुँडालमा कुँदिएका कलात्मक बुट्टाबारे जिज्ञासा राखेका थिए। अवलोकनका क्रममा गणेश न्यौपाने, सोयोगिता ठाकुर लगायतका विद्यार्थीले मन्दिरको इतिहास र वास्तुकलाबारे प्रश्न सोधेका थिए।
श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समिति १२/१३ का अध्यक्ष योगेन्द्रमान श्रेष्ठले विद्यार्थीको यो अभ्यासले संस्कृतिको प्रचारमा सघाउने बताए। ‘विद्यार्थीमा लुकेको सिर्जनशीलता बाहिर ल्याउन र हाम्रो धर्म–संस्कृतिलाई युवा पुस्तामार्फत प्रचारप्रसार गर्न यस्तो प्रयोगात्मक अभ्यास निकै फलदायी हुन्छ,’ श्रेष्ठले भने।
विसं २००८ मा स्थापना भएको उक्त विद्यालयले पत्रकारिता विषयका विद्यार्थीलाई समय–समयमा यस्ता प्रयोगात्मक अभ्यास गराउँदै आएको छ।