कटप्पाको मामा–भान्जा गिरोहद्वारा १२ घरमा लुटपाट

voiceofgandaki

पोखरा । 

शृंखलाबद्ध चोरी गर्ने समूहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत गिरोहका पाँच सदस्यलाई सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका १० साँखेका २६ वर्षीय सुवास विक, सोही ठाउँका २३ वर्षीय विमल विक, शुक्लागण्डकी ११ का २२ वर्षीय गणेश सुनार, स्याङ्जाको पुतलीबजार नगरपालिका ९ काल्खु घर भई पोखरा २ बस्ने ३३ वर्षीय सुरेश विक र पोखरा १० बस्ने ५३ वर्षीय दुर्गाबहादुर थापा छन् । उनीहरूलाई प्रहरीले वैशाख २६ यता विभिन्न मितिमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । 

पक्राउ परेका सुवास र दुर्गाबहादुर नाताले मामा–भान्जा हुन् । सुवासले चोरी गरेका सुनका गरगहना दुर्गाबहादुरको पोखरा–१० रामबजारस्थित स्याङ्जा कोल्माकोट सुनचाँदी पसलमा बिक्री गर्ने गरेको खुलेको छ । विमल सुवासका ठूलाबुवाका छोरा हुन् भने गणेश र सुरेश सुवासका फूपूका छोरा हुन् ।

प्रहरीले उनीहरूको साथबाट औंठी, सिक्री, मंगलसूत्र, पोते, माला, छड्के तिलहरीसहित १२ तोला ८ लाल सुन र औंठी, पाउजु, बाला, चुरीलगायत २४ तोला बराबरको चाँदीका गरगहना बरामद गरेको छ । चोरी गर्न प्रयोग गरिने मोटरसाइकल र अन्य सामग्रीसमेत बरामद गरिएको छ ।

एसपी ओलीका अनुसार पक्राउ परेकाहरूले पोखरा महानगरका ९ स्थान र तनहुँका ३ स्थान गरी १२ स्थानमा चोरी गरेको प्रारम्भिक बयान दिएका छन् । उनीहरूले सीसीटीभी नभएका घर र सुन तथा नगदमात्र चोर्ने रणनीति अपनाउने गरेको खुलेको छ । 

पक्राउ परेका सुवासले यसअघि पनि चोरीकै अभियोगमा ५ वर्ष कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेका थिए । २०७४ असार १४ मा कास्की जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो । उनले २०७९ जेठ १० मा सजाय भुक्तान गरी जेलमुक्त भएको र त्यसपछि तीन महिनाका लागि कतार गएका थिए । फर्किएपछि उनले फेरि दाजुभाइ र मामासँग मिलेर चोरी सुरु गरेका थिए ।

चोरीमा प्रयोग गरिएको ग २२ प ४९८९ नम्बरको मोटरसाइकल पनि चोरीकै भएको खुलेको । जुन सुवासलाई उनका दाजु नरबहादुर विकले दिएका थिए । नरबहादुर हाल हातहतियार तथा खरखजाना मुद्दामा कारागारमा छन् ।

सुनचाँदी पसल सञ्चालक दुर्गाबहादुरमाथि २०५७ र २०६४ मा सार्वजनिक मुद्दा दर्ता भएको र २०८० मा वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाले चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको पाइएको छ ।

प्रहरीले चोरीमा प्रयोग भएको ग २१ प ६७५३ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूविरुद्ध कास्की जिल्ला अदालतबाट म्याद थप गराई चोरी तथा डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया