पोखरा ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पश्चिमाञ्चल क्याम्पस लामाचौरमा सोमबार नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । क्याम्पसको इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ विभागले पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख निर्मल बरालले विद्यार्थीलाई क्याम्पसको नियम, शैक्षिक अनुशासन र वातावरणबारे जानकारी गराए । उनले विद्यार्थीको चार वर्षे इन्जिनियरिङ यात्रा फलदायी र सफल होस् भन्दै शुभकामना दिए । प्राविधिक शिक्षामा अनुशासनको महत्त्व उच्च हुने उनको भनाइ थियो ।
विशेष अतिथि नेपाल टेलिकमकी सिनियर इन्जिनियर सञ्जिता लामिछानेले इन्जिनियरिङ शिक्षा राष्ट्र विकासको महत्त्वपूर्ण आधार भएको बताइन् । सोही क्याम्पसकी पूर्वविद्यार्थी समेत रहेकी उनले प्रविधि क्षेत्रले देश निर्माणमा पुर्याउने योगदानबारे चर्चा गरिन् । उनले आफ्नो अनुभव सुनाउँदै नयाँ विद्यार्थीलाई मिहिनेत गर्न उत्प्रेरित गरिन् ।
विभागीय प्रमुख होमनाथ तिवारीले इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङको महत्त्व, भविष्यका अवसर तथा अध्ययनमा अनुशासनको आवश्यकताबारे विद्यार्थीलाई मार्गदर्शन गरे । कार्यक्रमले नयाँ विद्यार्थीलाई क्याम्पस जीवन, विभागीय संरचना र भविष्यको तयारीबारे बुझ्न मद्दत गरेको आयोजकले जनाएको छ ।
विभागीय उपप्रमुख रमेश थापाले सञ्चालन गरेको कार्यक्रममा विभागका प्राध्यापकहरू स्मिता अधिकारी, खेमराज कोइराला, नवीन लामिछाने, सीताराम पोखरेल, विष्णुहरि पौडेल, राजकिरण छत्कुली, सुदीप दाहाल, रोशन सुवेदी र उर्वरा भण्डारीको उपस्थिति थियो । क्याम्पसका अन्य विभागले पनि नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम गरेको जनाइएको छ ।
१७ मङ्सिर २०८२, मङ्गलबार ०६:५४ मा प्रकाशित