गण्डकी विश्वविद्यालयमा संघीयतामाथि अन्तरक्रिया

voiceofgandaki

पोखरा । गण्डकी विश्वविद्यालयमा बिए एलएलबी अध्ययनरत विद्यार्थीलाई गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्माले प्रशिक्षण दिएका छन् । विश्वविद्यालयको मुख्यालयमा सोमबार आयोजित कार्यक्रममा उनले ‘संघीय प्रणाली र प्रदेश सरकारको औचित्य तथा विधिको शासन कायम गर्न मुख्य न्यायाधिवक्ताको भूमिका’ विषयमा प्रशिक्षण तथा अन्तरक्रिया भएको हो । 

कानन तथा व्यवस्थापन संकायका डिन प्रा. हेमराज गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता शर्माको प्रस्तुति अत्यन्त रोचक, सान्दर्भिक र व्यवहारिक रहेको सहभागी विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूले बताए । प्रस्तुति भरभराउ, अनुभवप्रधान र प्रेरणादायी रहेकाले सहभागीहरूको ध्यान निरन्तर केन्द्रित रहन सफल भएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि निमित्त उपकुलपति तथा रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा सह–न्यायाधिवक्ता बिपना भण्डारी विशेष अतिथिका रूपमा सहभागी थिइन् ।

सो अवसरमा प्रमुख अतिथि डा. तिमिल्सिनाले गण्डकी विश्वविद्यालयमा अध्ययनरत कानूनका विद्यार्थीहरू सकारात्मक सोच, नेतृत्व क्षमता र सक्रिय सहभागिताका कारण सदैव अग्रसर रहेको बताउँदै हौसला प्रदान गरे । उनले विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि मुख्य न्यायाधिवक्ताजस्तो अनुभवी र सम्मानित व्यक्तित्वले प्रशिक्षण प्रदान गर्नु विश्वविद्यालयका लागि गौरवको विषय भएको बताए । त्यसैगरी, डिन प्रा. हेमराज गिरीले कानून अध्ययनमा संलग्न विद्यार्थीहरू अनुभवशील व्यक्तित्वबाट व्यवहारिक ज्ञान सिक्न निरन्तर तत्पर रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा छात्रा सुमिका गौतमले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरिन् । अधिवक्ता एवं कानुन संकाय प्रमुख रवीकुमार सिलवालको सञ्चालनमा सम्पन्न प्रशिक्षण कार्यक्रममा विद्यार्थी मनोज सुवेदीले धन्यवाद ज्ञापन गर्दै सफलतापूर्वक सम्पन्न कार्यक्रममा सहभागिताका लागि सबैप्रति कृतज्ञता व्यक्त गरे । संयोजक सिलवालले विशेषज्ञहरूसँग विद्यार्थीहरूको साक्षात्कार तथा अन्तरक्रिया गराउन कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया