पोखरा ।
स्थानीय अन्न संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यालयको दिवा खाजामा कोदोको परिकार अनिवार्य गरेको छ। गाउँपालिकाले हप्तामा कम्तीमा दुई दिन विद्यार्थीलाई कोदोबाट बनेका परिकार खुवाउने निर्णय गरेको हो।
आगामी २०८२ साउन १६ गते पर्ने प्रथम राष्ट्रिय कोदो दिवसदेखि यो निर्णय कार्यान्वयनमा आउनेछ। यो नियम लागू भएपछि विद्यालयको दिवा खाजामा ढिँडो, कोदोको मम, तावा रोटी, पुवा, सेलरोटी, चिउरा, हलुवा र सूप जस्ता पौष्टिक परिकारहरू अनिवार्य रूपमा समावेश हुनेछन्।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार यो अभियान विद्यालयमा मात्र सीमित नभई गाउँपालिकाभरि विस्तार गरिनेछ। 'हामी अब विद्यालयदेखि सभा–सेमिनारसम्म कोदोका परिकारलाई प्राथमिकता दिनेछौं,' उनले भने। अध्यक्ष सुवेदीले वडा कार्यालय, चमेना गृह तथा अन्य सार्वजनिक कार्यक्रमहरूमा समेत कोदोका परिकारलाई अनिवार्य गर्ने नीति लिइएको जानकारी दिए।
गाउँपालिकाले कोदोको पोषण महत्व, खाद्य सुरक्षामा यसको योगदान, किसानको आयआर्जन वृद्धि र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने जस्ता बहुआयामिक फाइदालाई ध्यानमा राखेर यो नीति ल्याएको हो। यही अभियानलाई थप प्रभावकारी बनाउन साउन १६ गतेको ‘कोदो दिवस’मा फेदीखोला–१, रामकोटमा विशेष कार्यक्रम आयोजना गरिने अध्यक्ष सुवेदीले बताए। उक्त दिन कोदो रोप्ने, परिकार प्रदर्शनी गर्ने तथा अन्य प्रयोगात्मक कार्यक्रममार्फत समुदायमा चेतना फैलाइनेछ।
फेदीखोलाले विद्यालय तहबाटै कोदोको महत्त्वबारे सचेतना जगाउन २०७७ सालदेखि नै प्रयास गर्दै आएको छ। त्यतिबेलै कक्षा ६ को स्थानीय पाठ्यक्रम ‘हाम्रो फेदीखोला’ मा ‘कोदोः बहुपयोगी खाद्यान्न’ शीर्षकको पाठ समावेश गरिएको थियो। पालिकाको यो पछिल्लो निर्णयलाई कोदो प्रवर्द्धनका लागि मात्र नभई स्थानीय पहिचान, स्वस्थ जीवनशैली र आर्थिक आत्मनिर्भरताको सन्देश दिने एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले अन्य स्थानीय तहलाई पनि यस्तै कार्यक्रम ल्याउन प्रेरणा दिनसक्ने अपेक्षा गरिएको छ।
१४ साउन २०८२, मङ्गलबार ०२:२१ मा प्रकाशित