पोखरा । शिक्षण पेसाबाट अवकाश लिँदा प्रायः दोसल्ला ओढाएर र मायाको चिनो दिएर बिदाइ गर्ने चलन सामान्य हो । तर गण्डकी प्रदेशका दुई जिल्लामा भने शिक्षकको योगदानको उच्च कदर गर्दै भव्य बिदाइ गरिएको छ । गोरखामा ४० वर्ष सेवा गरेका एक प्रधानाध्यापकलाई विद्यार्थीले हेलिकप्टर चार्टर गरेर घर पठाएका छन् भने म्याग्दीमा अर्का प्रधानाध्यापकलाई बाजागाजासहित बजार परिक्रमा गराइएको छ ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई स्थानीय र विद्यार्थीले मंगलबार हेलिकप्टरमा चढाएर बिदाइ गरे । झन्डै ४० वर्षसम्म अक्षर र अनुशासन सिकाएका उपरकोटीको योगदानको कदर गर्दै पूर्वविद्यार्थीहरूले रकम जुटाएर उनलाई हेलिकप्टरमार्फत काठमाडौं र त्यहाँबाट जहाजमा घर (भरतपुर) पुग्ने व्यवस्था मिलाएका हुन् ।
बिदाइ समारोहमा स्थानीय अभिभावक सजन गुरुङले भावुक हुँदै भने, 'गुरु त भुइँका मान्छेलाई उड्न सिकाउने मानिस हुन् । अब भने हामीले नै गुरुलाई उडाएर सम्मान दिन्छौँ ।' गोरखाको फिनाममा जन्मेका उपरकोटीले जीवनको ऊर्जाशील समय रुन्चेतका बालबालिकाको भविष्य उज्ज्वल बनाउन खर्चिएका थिए । हेलिकप्टरको पंखा घुम्न थालेपछि भावुक बनेका विद्यार्थी, सहकर्मी र अभिभावकले आँसु पुछ्दै उनलाई बिदाइ गरे ।
यस्तै दृश्य म्याग्दीको सदरमुकाम बेनीमा पनि देखियो । बेनी सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठको बिदाइमा बिहीबार सिंगो बजार गुन्जियो । विद्यालयले आयोजना गरेको बिदाइ कार्यक्रममा नौमती बाजासहित शिक्षक, अभिभावक र विद्यार्थीले श्रेष्ठलाई गाडीमा राखेर बजार परिक्रमा गराए ।
परिक्रमाका क्रममा बजारवासीले श्रेष्ठलाई फूलमाला, अबिर र खादा लगाएर नागरिक अभिनन्दन समेत गरे । उनी विद्यालयमा २०६७ देखि २०६९ सम्म प्राचार्य र त्यसपछि २०८२ मंसिर १७ सम्म प्रधानाध्यापकको भूमिकामा थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठले विद्यालयको शैक्षिक विकासमा उनले पुर्याएको योगदानको कदर गर्दै अभिनन्दनसहित बिदाइ गरिएको बताए ।

विद्यालयले बाजागाजासहितको र्यालीसहित श्रेष्ठलाई बेनी नगरपालिका–८ संगमचोकस्थित उनको घरसम्मै पुर्याएको थियो । शिक्षण पेसामा इमानदार भएर लाग्दा समाजले दिने सम्मान र मायाको यी दुई घटनाले पुष्टि गरेका छन् । निष्ठापूर्वक कर्म गर्ने शिक्षकका लागि समाजले मनैदेखि गर्ने सम्मानको यो एक उत्कृष्ट उदाहरण बनेको छ ।
२७ मङ्सिर २०८२, शुक्रबार ०६:०८ मा प्रकाशित