काठमाडौं । सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा बढेको पाइएको छ। नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सन् २०२५ भरि १३२ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएका छन्। यो संख्या सन् २०२४ को (९५ घटना) तुलनामा उल्लेख्य बढी हो।
महासंघका अनुसार वर्षभरि भएका घटनामा २ जना पत्रकारको ज्यान गएको छ। गत २८ र २९ मार्चमा भएको आन्दोलनको रिपोर्टिङका क्रममा एक पत्रकारको जलाएर हत्या भएको र अर्का एक पत्रकारको समाचार तथा दृश्य सामग्रीका कारण लक्षित आक्रमण भई मृत्यु भएको आशंका गरिएको छ। यी घटनामा २९ महिला र ९७ पुरुष पत्रकार प्रत्यक्ष पीडित भएका छन् भने ३९ वटा सञ्चार संस्था प्रभावित बनेका छन्।
घटनागत विवरणअनुसार सबैभन्दा बढी दुर्व्यवहार र धम्कीका ५३ घटना भएका छन्। कार्यालय तथा पत्रकारमाथि आक्रमण, तोडफोड र आगजनीका ४२ घटना अभिलेख हुँदा कुटपिट र अवैध अवरोधका १९ घटना भएका छन्। यस्तै, पेसागत असुरक्षाका १६, गिरफ्तारीका २, नीतिगत बन्देजका २ र विस्थापनको १ घटना भएको महासंघले जनाएको छ।
आन्दोलनका क्रममा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड हुँदा ठूलो आर्थिक क्षति भएको छ। महासंघका अनुसार करिब ६० करोड रुपैयाँबराबरको संस्थागत र १५ करोड रुपैयाँबराबरको निजी क्षति भएको छ। यस अवधिमा ५ जना पत्रकार गोली लागेर घाइते भएका थिए।
वर्षभरि भएका आन्दोलन, राजनीतिक अस्थिरता र सामाजिक सञ्जालको दुरुपयोगका निहुँमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्न खोजेको महासंघको निष्कर्ष छ। सञ्चारमाध्यम दर्ता तथा नवीकरण रोक्ने, सामाजिक सञ्जाल बन्द गर्ने जस्ता निर्णयले लोकतान्त्रिक मूल्यमान्यतामा प्रश्न उठाएको छ। महासंघले संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल विधेयक र सूचना प्रविधि ऐन प्रेस स्वतन्त्रतामैत्री नभएको भन्दै चिन्ता व्यक्त गरेको छ।
१६ पुस २०८२, बुधबार ०९:१३ मा प्रकाशित