सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २९औं वार्षिकोत्सव मानव सेवा आश्रममा मनायो
voiceofgandaki
३ साउन २०८२, शुक्रबार
पोखरा।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २९औं वार्षिकोत्सव एक विशेष सामाजिक कार्य गरेर मनाएको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखराको छोरेपाटनमा अवस्थित मानव सेवा आश्रममा रहेका वृद्धवृद्धा तथा अशक्तहरूलाई बिहानको भोजन गराएर वार्षिकोत्सव मनाएको हो।
कम्पनीका पोखरास्थित विभिन्न शाखा कार्यालयका कर्मचारीहरूको सक्रिय सहभागितामा आयोजित उक्त कार्यक्रममा आश्रममा आश्रित वृद्धवृद्धा, अशक्त तथा एकल जीवन बिताइरहेका व्यक्तिहरूलाई न्यानो स्वागतसहित भोजन वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै कम्पनीका पोखरा न्यूरोड शाखाका प्रमुख श्री राजेश बाबु खत्रीले वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा मात्र नभई सामाजिक योगदानको अवसरका रूपमा लिएको बताउनुभयो। उहाँले भन्नुभयो, "हामी हाम्रो वार्षिकोत्सवलाई केवल उत्सवको रुपमा होइन, सामाजिक योगदानका अवसरको रुपमा पनि हेर्छौँ।" उहाँले कम्पनीले सामाजिक उत्तरदायित्वलाई सधैँ प्राथमिकतामा राख्ने र यस्ता कार्यलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस अवसरमा मानव सेवा आश्रमका सञ्चालक तथा कर्मचारीहरूले सगरमाथा लुम्बिनी इन्स्योरेन्सप्रति हार्दिक आभार प्रकट गरे। उनीहरूले यस्ता सहयोगले आश्रममा रहेका वृद्धवृद्धाहरूको आत्मबल र आत्मसम्मान बढाउनुका साथै सकारात्मक भावना जगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कम्पनीले आगामी दिनहरूमा पनि सामाजिक हितका कार्यमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।