बागलुङ ।
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधि बन्न रस्साकस्सी सुरु भएको छ । आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा भाग लिन यहाँबाट ६ जना प्रतिनिधि छनोट हुनेछन् । तर ती ६ पदका लागि ३९ जना नेता कार्यकर्ताले दाबी गरेका छन् ।
निर्वाचन क्षेत्र समन्वय कमिटीको बुधबार बसेको बैठकमा आकांक्षीहरूले नाम टिपाएका हुन् । कमिटीका संयोजक धनबहादुर परियारका अनुसार खुलातर्फ ३ जना प्रतिनिधिका लागि सबैभन्दा धेरै २२ जनाको दाबी परेको छ । यस्तै महिलातर्फ २ सिटका लागि ७ जना र युवातर्फ १ सिटका लागि १० जना मैदानमा उत्रिएका छन् ।
खुलातर्फ जिल्लाका प्रभावशाली नेताहरूकै भिड लागेको छ । जिल्ला अध्यक्ष हिराबहादुर केसी, पूर्वअध्यक्ष जनकराज पौडेल र गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले दाबी गरेका छन् । संविधानसभा सदस्य नरबहादुर थापा पनि दौडमा छन् ।
अन्य आकांक्षीहरूमा लीला राना, नवराज पौडेल, अमर थापा, ध्रुवबहादुर केसी, गणेशबहादुर थापा, लालबहादुर थापा र शिवप्रसाद सापकोटा छन् । त्यस्तै डिल्लबहादुर कार्की, भूपेन्द्र खड्का, रामकृष्ण शर्मा, बाबुलाल शाक्य, भरत पुरी, हरिनारायण गौतम, हिमाल शर्मा, रुद्रबहादुर केसी, खेमराज सापकोटा र सञ्जयकुमार श्रेष्ठले पनि दाबी पेस गरेका छन् ।
महिलातर्फका २ पदमा गीता शर्मा, ममतादेवी शर्मा, हुमाकुमारी जिसी (अञ्जु), सरस्वती खड्का परियार, चित्रा श्रीस, हुमादेवी खड्का र कालिका सापकोटाले दाबी गरेका छन् ।
एउटा मात्र कोटा रहेको युवातर्फ सिर्जना पन्त, प्रेमबहादुर केसी, शिवप्रसाद शर्मा, राजु गौतम, सञ्जाल शर्मा, रमेशबहादुर केसी, बुद्ध बोहरा, शेखर खड्का, सन्दीप कँडेल र तिलक खड्काले नाम टिपाएको संयोजक परियारले बताए ।
१२ मङ्सिर २०८२, बिहिबार ०६:३६ मा प्रकाशित