पाटन (ललितपुर) । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका
विषयमा कांग्रेसले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको
आर्थिक नीति तथा योजना विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘कांग्रेसको
युवा केन्द्रित आर्थिक नीति तथा योजना’ विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री
थापाले हरेक छलफलको टिपोट गरी स्थानीय सरकारसम्म कार्यान्वयनका लागि जोड दिने बताउनुभयो
।
“युवालाई प्रविधिमार्फत
समस्याको समाधान गर्दै उत्पादन, उद्यमशीलता र रोजगारी सृजना गर्नतर्फ जोड्नुपर्छ, नागरिकका
समस्याको बारेमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा छलफल हुने गरेको छ, यसलाई कार्यान्वयन
र नतिजासँग जोड्नुपर्छ, सरकारमा गइसकेपछि के गर्ने हो, के गर्ने हैन भन्ने विषयमा हुने
छलफल महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो ।
महामन्त्री थापाले
छलफलबाट प्राप्त हुने नीतिगत ज्ञानको कार्यान्वयनबाट नतिजा ल्याउनुपर्छ भन्नेमा जोड
दिनुभयो । “नीतिगत सम्भावनाले उजागर गर्ने विषयमा धेरै बहस भएको छ, कृषि क्षेत्रका
विषयमा विस्तारै फरक तरिकाले बहस सृजना गर्दै जानुपर्ने छ, प्रदेश र स्थानीय तहमा धेरै
ठाउँमा हाम्रो नेतृत्व छ, प्रत्येक स्थानीय तहमा आफ्नो क्षेत्रभित्र रोजगारी सृजना
गर्ने, उद्यमशीलता विकास गर्ने नीति हुनुपर्छ”, उहाँले भन्नुभयो ।
महामन्त्री थापाले
कांग्रेसले विरोधको राजनीतिमा भन्दा उत्पादन, रोजगारी, उद्यमशीलता र सम्भावनाको क्षेत्रमा
ध्यान दिँदै छलफल बहसमार्फत समृद्धिको राजनीतिमा ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले
बजार अनुकुलको शिक्षा र ज्ञान अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिँदै नयाँ पुस्तामा
समस्या सृजना गर्नेभन्दा समाधान गर्नसक्ने ज्ञान र सीपको विकास गर्नुपर्ने बताउनुभयो
।
कांग्रेस कोषाध्यक्ष
उमेश श्रेष्ठले मुलुकको आवश्यकता र विश्वव्यापी परिवर्तनअनुसार जनशक्ति तयार गर्न शिक्षामा
आमूल परिवर्तन ल्याउनुपर्ने भन्दै पुरानो शिक्षा नीतिले समस्या ल्याएको बताउनुभयो ।
उहाँले सातै प्रदेशमा रोजगारीको सृजना गर्नेगरी औद्योगिक विकास गर्दै नेपालको सम्भावनाअनुसार
नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।
कांग्रेस केन्द्रीय
सदस्य चीनकाजी श्रेष्ठले नीति राम्रो बनाएर पनि कार्यान्वयन पक्ष फितलो हुँदा समस्या
हुने उल्लेख गर्दै तुलनात्मक लाभ हासिल गर्ने र रोजगारी सृजना गर्ने कुरामा ध्यान दिनुपर्ने
बताउनुभयो ।
कांग्रेस केन्द्रीय
सदस्य उदयशम्शेर राणाले भारत तथा चीनसँग प्रतिस्पर्धा गर्न सक्ने गरी सूचना प्रविधि
र कृषि क्षेत्रमा युवाहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले किसानले
उत्पादन गरेको सामग्रीलाई खेर जान नदिने गरी बजार व्यवस्थापन गर्न ध्यान दिनुपर्ने
बताउनुभयो ।
कांग्रेसको आर्थिक
नीति तथा योजना विभाग प्रमुख प्रा डा गोविन्दराज पोखरेलले युवा केन्द्रित आर्थिक नीतिका
बारेमा धारणा राख्नुहुँदै राज्य अभिभावक बनेर सम्भावना र अवसरलाई प्रोत्साहन गर्नुपर्नेमा
जोड दिनुभयो ।
स्वतन्त्र उद्यमीहरुको
संस्था उद्यमशील कांग्रेसका अध्यक्ष अस्मिन सिटौलाले उद्यमीका मुद्दा सबैको भएकाले
राजनीतिक मुद्दामा उद्यमशीलताका कुरा समेटिनुपर्नेमा जोड दिनुभयो । ‘प्रदेश तथा स्थानीय
तहको बजेटमा युवाको स्थान’ विषयमा आफ्नो धारणा राख्दै अर्थशास्त्री एवं सुशासन विज्ञ
डा प्रकाश छत्कुलीले युवा लक्षित योजनालाई आवधिक योजना र वार्षिक बजेटमा समावेश गर्दै
सुरक्षाको प्रत्याभूति दिएर जवाफदेही हुनेगरी लैजानुपर्नेमा जोड दिनुभयो ।
नेपालमा युवाको क्षमता
विकास र रोजगारी विषयमा धारणा राख्दै विभागका सदस्य विनयकुमार कुसियतले युवालाई प्रविधिसँग
जोडेर शिक्षा, ज्ञान, क्षमता विकास र रोजगारीमा जोड्दै आर्थिक सशक्तीकरणका साथै उद्यमशीलतातर्फ
ध्यान दिन सुझाव दिनुभयो । रासस