विन्ध्यवासिनी माविमा चुनावबाट जुरेस

voiceofgandaki

पोखरा । 

पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विभिन्न पदमा विद्यार्थी प्रतिनिधिहरू चयन भएका छन् । संघीय निर्वाचनको झल्को दिने गरी भएको निर्वाचनमा विद्यालय क्याप्टेन पदमा फुटबल चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी विद्यार्थी करुणा आचार्यले ३८२ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी विजय अधिकारीले २७३ मत प्राप्त गरे । उपक्याप्टेन पदमा चरा चुनाव चिह्न लिएर मैदानमा उत्रिएका विश्वास पोखरेलले तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै निर्वाचित भए । उनले २५३ मत प्राप्त गरे । उपक्याप्टेन पदमा प्रतिस्पर्धा गरेकी सन्दीपा थापाले २०७, रिकान्त शर्माले ११५ र प्रतीक गौतमले ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालेका सामाजिक विषयका शिक्षक कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बाल क्लबको अध्यक्ष पदमा प्रत्यासी प्रशिका गुरुङलाई ९१ मतले पछि पार्दै प्रशान्त थापा निर्वाचित भए । उनले ३६१ मत प्राप्त गरे । त्यसैगरी, जुनियर रेडक्रस सर्कलको अध्यक्ष पदमा तीनजनाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये ३०४ मत प्राप्त गरी लक्ष्मी गुरुङ निर्वाचित भइन् । अर्का प्रत्यासी संघर्ष बानियाँले २१५ र विप्रेशा भट्टराईले १०१ मत प्राप्त गरी पराजित भए । 

कक्षा ४ देखि १० सम्मका ७५५ जना विद्यार्थी मतदाताले भाग लिएको उक्त निर्वाचनमा कुल ६६९ मत खसेको मुख्य निर्वाचन आयुक्त जयराम पुनले बताए । बिहान ११ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेसम्म चलेको थियो । मतदानपश्चात् खटिएका विद्यार्थी पर्यवेक्षक, सुरक्षाकर्मी र प्रत्याशीका प्रतिनिधिको रोहवरमा मुचुल्का गरी कडा सुरक्षा घेराबीच मतगणना गरिएको थियो । तीनवटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका रूपमा १६ जना विद्यार्थी खटिएका थिए ।

निर्वाचनमा विद्यालय क्याप्टेनतर्फ २ जना, उपक्याप्टेनतर्फ ४ जना, बाल क्लबको अध्यक्षतर्फ २ जना र रेडक्रस सर्कलको अध्यक्षतर्फ ३ जना गरी ४ पदका लागि ११ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । विद्यालयको पाठ्यक्रममा नै निर्वाचन र मतदानका विषय समावेश भएकाले प्रयोगात्मक अभ्यासका रूपमा निर्वाचन प्रणालीमार्फत पदाधिकारी चयन गरिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए । नवनिर्वाचित पदाधिकारीलाई सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, मुख्य निर्वाचन आयुक्त कृष्णप्रसाद पौडेल, जयराम पुन, बाल क्लब संयोजक तारा अधिकारी र शिक्षक महेन्द्रप्रसाद पौडेलले सपथ ग्रहण गराए ।

निर्वाचनमा सुरक्षाकर्मी, पत्रकार, पर्यवेक्षक, एजेन्ट, स्वयंसेवक र निर्वाचन कर्मचारीका रूपमा विद्यार्थीहरू नै खटिएका थिए । यसअघि गत बुधबार मनोनयन दर्ता गरी उम्मेदवारी दिएका प्रत्याशीले विद्यार्थी मतदाताबीच आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका थिए । मतपत्रबाहेक निर्वाचनका आवश्यक सामग्री भने निर्वाचन कार्यालय कास्कीले सहयोग गरेको थियो । 


प्रतिक्रिया