नेपालमा सवारी दुर्घटना भयावह, औसतमा दैनिक ७ जनाको मृत्यु

भ्वाइस अफ गण्डकी

काठमाडौं । 


नेपालमा सवारी दुर्घटनाको अवस्था निकै भयावह रहेको सरकारी तथ्यांकले देखाएको छ। प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर २८ हजार ६९२ वटा सवारी दुर्घटना भएका छन्, जसमा परी २ हजार ५४९ जनाले ज्यान गुमाएका छन्। यो तथ्यांकले नेपालमा सवारी दुर्घटनाबाट औसतमा दैनिक ७ जनाको मृत्यु हुने गरेको देखाउँछ। दुर्घटनामा सबैभन्दा बढी मृत्यु हुनेमा मधेश प्रदेश रहेको उनले बताए।

संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबार बसेको बैठकमा बोल्दै महानिरीक्षक थापाले गत आर्थिक वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा पनि वृद्धि भएको जानकारी दिए। आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा अपराधका घटनामा करिब १.२४ प्रतिशतले वृद्धि भएको हो।

तथ्यांकअनुसार, आव २०८०/८१ को असार मसान्तसम्म देशभर ५८ हजार ४७० वटा मुद्दा दर्ता भएका थिए भने आव २०८१/८२ मा यो संख्या बढेर ५९ हजार २४ पुगेको छ। कुल मुद्दामध्ये सबैभन्दा धेरै १६ हजार १७२ वटा मुद्दा काठमाडौं उपत्यकामा दर्ता भएका छन्। त्यसपछि मधेश प्रदेश र कोशी प्रदेशमा धेरै मुद्दा दर्ता भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा छन्।

महानिरीक्षक थापाले भने, 'अपराधको वर्तमान अवस्थाको कुरा गर्दा गत वर्षको २०८०/८१ को असार मसान्तसम्म देशभरि ५८ हजार ४७० वटा मुद्दा दर्ता भएको थियो। अहिले ५९ हजार २४ घटना दर्ता भएको छ। गत वर्षभन्दा झन्डै १.२४ प्रतिशतले अहिले कसुरको मात्रा र मुद्दा बढेको अवस्था देखिन्छ। केही मुद्दाहरू देवानी रहेका छन्। सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं भ्याली नै हो। ५९ हजार २४ मुद्दामा १६ हजार १७२ मुद्दा यहीँ नै छन्। त्यसपछि मधेश प्रदेश र कोशी प्रदेशमा बढी छन्। कर्णाली प्रदेशमा कम छन्।'

यद्यपि, देशको शान्ति सुरक्षाको अवस्था सही ठाउँमा रहेको उनले बताए। उनका अनुसार, नेपाल प्रहरीले एक दिनमा औसतमा २२६ वटा सवारी गस्ती, ६०९ स्थानमा चेकिङ, १ हजार ११० पटक पैदल गस्ती र ७१२ पटक ग्रामीण गस्ती गर्ने गरेको छ। देशभर २४ घण्टामा ३० हजार ३७४ सुरक्षा जनशक्ति खटिने गरेको र प्रहरीलाई दैनिक औसतमा ७ हजार २५५ वटा कल आउने गरेको पनि उनले जानकारी दिए।


प्रतिक्रिया