पोखरामा शनिबार ‘एनटिएचएमसी फुड फेस्ट’ : समीर श्रेष्ठ र केहरसिंह लिम्बु आउँदै

voiceofgandaki

पोखरा । पोखरा महानगरपालिका–१४ स्थित नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी) का विद्यार्थीले ‘एनटिएचएमसी फुड फेस्ट–२०२६’ आयोजना गर्ने भएका छन्। कलेजको २५औं ब्याचका विद्यार्थीको अग्रसरतामा आगामी शनिबार (२६ पुस) महोत्सव हुन लागेको हो।

हरेक वर्ष ‘स्टुडेन्ट मेगा इभेन्ट’ का रूपमा हुँदै आएको फुड फेस्टको तयारी तीव्र पारिएको आयोजक समितिका अध्यक्ष विवेक महतले जानकारी दिए। महतका अनुसार महोत्सवमा विभिन्न किसिमका खाना तथा पेय पदार्थका परिकार राखिनेछ। विशेष आकर्षणका रूपमा ‘प्लान्ट बेस्ड फुड’ (भेगन) को स्वाद लिन पाइनेछ भने ‘बार टेन्डिङ फ्लेयरिङ सो’ समेत देखाइनेछ।

महोत्सवमा सांगीतिक मनोरञ्जनका लागि चर्चित गायक समीर श्रेष्ठ र केहरसिंह लिम्बुको ब्यान्ड प्रस्तुति रहने अध्यक्ष महतले बताए। साथै, स्थानीय कलाकार र कलेजका विद्यार्थीले पनि विभिन्न सांस्कृतिक प्रस्तुति दिनेछन्।

कार्यक्रमलाई भव्य र सभ्य बनाउन १४ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। क्याम्पस प्रमुख प्रकाश रेग्मी र सहायक क्याम्पस प्रमुख राजकुमार कार्कीको समन्वय तथा सल्लाहमा काम भइरहेको आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन विभिन्न प्रायोजक तथा सहयोगी संस्थासँग सहकार्य गरिएको छ।

महोत्सवमा सहभागी हुनका लागि सशुल्क टिकटको व्यवस्था गरिएको छ। टिकटका लागि अनलाइन टिकेटिङ पार्टनर ‘रेभल्स’ सँग सहकार्य गरिएको छ भने आयोजक टिमका सदस्यबाट पनि टिकट लिन सकिनेछ। कार्यक्रमपछि वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यले ‘प्लेट फर प्लान्ट’ योजनासमेत अघि सारिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया