कांग्रेस सुधार अभियान : ७७ जिल्लामा संयोजक तोकिए, ४० प्रतिशत युवा सहभागिताको माग

भ्वाइस अफ गण्डकी

काठमाडौँ– नेपाली कांग्रेस सुधार अभियान (४० वर्षमुनि) ले देशका ७७ वटै जिल्लामा नेतृत्व चयन गरेको छ । पार्टीभित्र युवा पुस्ताको आकर्षण बढाउन र नेतृत्वमा हस्तक्षेपकारी भूमिका खेल्न भन्दै अभियानले बुधबार सबै जिल्लामा संयोजक तोकेको हो ।

अभियानले पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मको संरचनामा ‘४० मुनि ४०’ को नीति लागू गर्नुपर्ने माग अघि सारेको छ । अभियानका संयोजक शिव रिमालले पार्टीका हरेक तह र तप्कामा ४० वर्षमुनिका ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गराउन दबाब दिने उद्देश्यले जिल्ला संयन्त्र बनाइएको जानकारी दिए ।

‘पार्टीको तर्फबाट लड्ने संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई टिकट सुनिश्चित गर्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो,’ संयोजक रिमालले भने ।

अभियानले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र लोकतान्त्रिक बनाउन ‘प्राइमरी इलेक्सन’ (आन्तरिक प्रतिस्पर्धा) को व्यवस्था गर्नुपर्ने आवाज उठाएको छ । भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने, सुशासन कायम गर्ने र लोकतन्त्रको संरक्षणका लागि नयाँ बहस सिर्जना गर्ने उद्देश्य अभियानको छ ।

के हो कांग्रेस सुधार अभियान ? 

नेपाली कांग्रेसभित्र लामो समयदेखि नेतृत्व पुस्तान्तरण र रूपान्तरणको बहस चल्दै आएको छ । विशेष गरी ‘ग्रान्ड ओल्ड पार्टी’ का रूपमा चिनिने कांग्रेसमा पुराना र पाका नेताहरूको बाहुल्य रहेको र निर्णय प्रक्रियामा युवाको पहुँच कमजोर भएको गुनासो व्याप्त छ । यही असन्तुष्टिको जगमा ‘कांग्रेस सुधार अभियान’ को जन्म भएको हो ।

यो कुनै छुट्टै गुट वा पार्टी नभएर कांग्रेसभित्रैको एउटा ‘प्रेसर ग्रुप’ (दबाब समूह) हो । ४० वर्षमुनिका युवालाई संगठित गरेर पार्टीको विधान, व्यवहार र नेतृत्व शैलीमा समयानुकूल परिवर्तन ल्याउनु यसको मुख्य ध्येय हो ।

पछिल्लो समय नयाँ राजनीतिक दलहरूप्रति युवाको आकर्षण बढ्दै गएपछि कांग्रेसभित्रका युवा चिन्तित बनेका छन् । परम्परागत शैलीले अब पार्टी नचल्ने निष्कर्षसहित उनीहरूले ‘४० वर्षमुनिका ४० प्रतिशत’ को नारा अघि सारेका हुन् । उनीहरूले मुख्य गरी तीनवटा विषयलाई अभियानको एजेन्डा बनाएका छन् :

१. नेतृत्वमा हिस्सेदारी : पार्टीको कार्यसमितिदेखि संसदीय निर्वाचनसम्म ४० वर्षमुनिका युवालाई ४० प्रतिशत आरक्षणको माग ।
२. प्राइमरी इलेक्सन : टीका लगाएर वा नेताको खल्तीबाट उम्मेदवार छान्ने प्रवृत्तिको अन्त्य गर्दै क्रियाशील सदस्यहरूको मतबाट उम्मेदवार छान्ने ‘प्राइमरी इलेक्सन’ प्रणालीको वकालत ।
३. सुशासन र नीति : व्यक्तिको पूजा गर्ने संस्कृतिको साटो विधि, नीति र सुशासनमा आधारित राजनीति ।

यो अभियानले पार्टीको महाधिवेशन र नीति अधिवेशनहरूमा पनि युवाका मुद्दालाई सशक्त रूपमा उठाउँदै आएको छ । अहिले ७७ वटै जिल्लामा संयोजक तोकेर यसले आफ्नो सञ्जाललाई गाउँ तहसम्म विस्तार गर्ने रणनीति लिएको देखिन्छ ।

प्रतिक्रिया