काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीलाई यूएईको नियम, कानुन र अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
दूतावासले सोमबार जारी गरेको सूचनामा पेसा–व्यवसायप्रति इमानदार र कर्तव्यनिष्ठ रहँदै आफू कार्यरत कम्पनी तथा बसोबास गर्ने स्थानमा मर्यादित र अनुशासित हुन नेपाली समुदायलाई आह्वान गरिएको छ।
दूतावासका अनुसार पछिल्ला दिनमा केही नेपालीहरू मादक पदार्थ सेवन तथा झैझगडा, बैंकिङ कसुर, आपसी नगदी लेनदेन, लागुऔषध ओसारपसार, इमिरेट्स आइडी दुरुपयोग, साइबर अपराध, अध्यागमन नियम उल्लंघन र ट्राफिक नियम विपरीतका गतिविधिमा संलग्न भई समस्या भोगिरहेका तथ्यहरू प्राप्त भएका छन्।
यस्ता गतिविधिहरू यूएईको कानुनअनुसार दण्डनीय हुने भएकाले सचेत रहन र विशेष सावधानी अपनाउन दूतावासले विशेष अनुरोध गरेको छ।
८ असोज २०८२, बुधबार ०६:०२ मा प्रकाशित