पोखरा ।
वन विज्ञान पढ्ने विद्यार्थीहरूको हुलमा एकजना 'फिरन्ते' उभिए । उनले कुनै टेक्स्टबुकको सिद्धान्त सुनाएनन्, बरु सुनाए– जंगल, चराचुरुंगीको प्रेम र तिनको लुकेको दुनियाँ । ती फिरन्ते अरु कोही नभएर लेखक तथा पत्रकार ददि सापकोटा थिए, जो आइतबार आफ्नो नवीनतम कृति 'ज्ञानिका' माथि विमर्श गर्न पोखराको वन विज्ञान अध्ययन संस्थान (IOF) पुगेका थिए ।
प्रकृतिलाई नजिकबाट नियालेका सापकोटाले विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा परको 'जंगलको पाठशाला' घुमाए । उनले भने, ‘कथा खोज्न टाढा जानु पर्दैन, वन–जंगलमा पुगेपछि कथा आफैं भेटिन्छन् । मैले पनि त्यसैगरी भेटेको हुँ ।’
‘प्लेन उडाउनेबाहेक सबै गरें’
विमर्शका क्रममा ददिले आफ्नो जीवनको रोचक पाटो खोले । नेचर गाइड, पत्रकार हुँदै लेखक बनेका उनले आफ्नो अनुभवलाई यसरी पोखे, ‘मैले जीवनमा प्लेन उडाउने काम गरेको छैन । अरु सबै काम गरें ।’
उनको बुझाइमा पत्रकारिताले नै उनलाई लेख्न सिकायो र त्यही सीपले उनलाई पुस्तक लेखनतर्फ डोर्यायो । वन विज्ञानका विद्यार्थीलाई लेखनमा लाग्न हौसला दिँदै उनले सुझाए, ‘तपाईंहरूले लेखन कला विकास गर्न आजैदेखि दैनिकी (डायरी) लेख्न थाल्नुस् । हिँडेपछि, भेटेपछि कथा आफैं बन्छन् ।’
चराको प्रेम र जंगलको न्याय
ददिले आफ्ना यात्राहरू सम्झिए । नेपालका हिमनदी, हिमताल र अनकन्टार डाँडाकाँडा चहार्दाका अनुभवहरू साटे । विशेषगरी चराचुरुंगीको संसारबारे उनका किस्साहरूले विद्यार्थीलाई मन्त्रमुग्ध बनायो ।
‘हामीलाई लाग्छ भाले र पोथी फरक हुन्छन्, तर कतिपय अवस्थामा देख्दा छुट्याउनै सकिँदैन,’ उनले चराहरूको सूक्ष्म निरीक्षणबारे भने, ‘एउटै चरालाई दुई पटक देख्दा पनि फरक पाइँदो रहेछ ।’
उनले मानिस र पशुपन्छीको दुनियाँलाई दाँज्दै एउटा गम्भीर प्रश्न पनि तेर्साए– ‘मान्छेको प्रहरी हुन्छ, न्यायालय हुन्छ, अदालत हुन्छ, माया प्रेम हुन्छ । तर चराको के हुन्छ होला ?’ यिनै कौतूहल र रोचक तथ्यहरू 'ज्ञानिका' मा समेटिएको उनले बताए । नेपालमा साइबेरियादेखि भियतनाम, कम्बोडिया र युरोपसम्मका चराहरू आउने गरेको प्रसंग कोट्याउँदै उनले चराहरूको विश्वव्यापी सञ्जालको चित्र कोरे ।
२१ कर्मशील पात्रको गाथा: 'ज्ञानिका'
फाइन प्रिन्टले प्रकाशन गरेको गैरआख्यान ‘ज्ञानिका’ मा पर्यावरण, वन्यजन्तु, वनस्पति र पर्यटन क्षेत्रमा योगदान पुर्याउने २१ जना कर्मशील व्यक्तित्वको जीवनी र अनुभव समेटिएको छ ।
पुस्तकमा प्रण र वंश रक्षामा वनस्पतिको संघर्ष, विश्वलाई सामुदायिक वनको ढाँचा, सिकारमार्फत वन्यजन्तु संरक्षण, पर्यटनको अवसर र प्रदूषणमुक्त नेपालको बाटो जस्ता विषयहरू समावेश छन् । ‘माटोको खान्की आँखैअघि खतरा’ जस्ता शीर्षकमा उनले गम्भीर वातावरणीय मुद्दाहरू उठाएका छन् ।
वातावरणीय विषयलाई मुख्यधारको पत्रकारितामा ल्याउन अनुसन्धान र तथ्यसहितको संवेदनशीलता आवश्यक रहेकोमा उनले जोड दिए ।
स्वतन्त्र विद्यार्थी युनियन र वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसको सहकार्यमा आयोजित उक्त कार्यक्रमको सहजीकरण सुनील सापकोटाले गरेका थिए । ददिका यसअघि त्यो नेपाल, दुखेको युरोप, वनको वैभव र जीवगाथा लगायतका कृतिहरू पाठकमाझ लोकप्रिय छन् ।
२२ मङ्सिर २०८२, आईतबार ०६:१६ मा प्रकाशित